भाइरल पोष्ट,सर्लाही
माघ १८ । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ ब्रह्मस्थान चोकस्थित प्लास्टिकको झोला बनाउने हिमालयन पोली नेपाल फ्याक्ट्रीमा भीषण आगलागी हुँदा करिब साढे सात करोड रुपैयाँ बराबरको क्षति भएको छ।
आज बिहान ३:२५ बजे विद्युत् सर्ट भई लागेको आगोले फ्याक्ट्रीमा रहेको मेसिन, कच्चा पदार्थ तथा भवन पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। नेत्रबहादुर कार्कीको घर भाडामा लिएर राम छबिला साहले सञ्चालन गरेको उक्त फ्याक्ट्रीमा लागेको आगो इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, हरिवन र मलंगवाका दमकल तथा स्थानीयको सहयोगमा बिहान ५:३० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
आगलागीले सोही ठाउँका नवल किशोर साहको घरमा आंशिक क्षति पुगेको छ भने कुनै मानविय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। अन्य क्षतिको विस्तृत विवरण आउन बाँकी छ।