भाइरल पोष्ट, सर्लाही
माघ १८ ।। सर्लाही जिल्लामा रहेको भूमिसम्बन्धी विभिन्न समस्याहरू समाधान गर्न जिल्ला भूमि अधिकार मञ्च, सर्लाहीले ध्यानाकर्षण पत्र बुझाएको छ ।
मञ्चकी अध्यक्ष भवानी घिमिरेको नेतृत्वमा गएको टोलीले डिभिजन वन कार्यालय, सर्लाही, भूमि समस्या समाधान आयोग सर्लाही र जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई ज्ञापनपत्र बुझाएको हो ।

मञ्चले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न माग गरेको छ । ज्ञापनपत्रमा नेपाल सरकारद्वारा गठन गरिएको भूमि समस्या समाधान आयोग विघटन भएपछि समस्या झनै जटिल बनेको उल्लेख गरिएको छ । साथै, संविधानको धारा ४० अनुसार भूमिहीन दलितलाई जग्गा दिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरिएको छ ।

मञ्चले अव्यवस्थित बसोबासीको पुनःस्थापनाका लागि व्यवस्थित योजना बनाउन, जबरजस्ती उठीवास नगराउन तथा बिना सहमति कुनै पनि कारबाही नगर्न आग्रह गरेको छ ।
स्थानीय प्रशासन र सरोकारवालाहरूले समस्या समाधानमा सहयोग गर्नुपर्ने मञ्चले जोड दिएको छ ।