सोम दियाली, सर्लाही
माघ १५ गते । सर्लाहीको लालबन्दी नगरपालिकाका छयालीस सयबढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप दिईने भएको छ ।
पछिल्लो समय नेपालसहित विश्वभरी नै जटिल समस्याको रुपमा देखा परेको पाठेघरको मुखको क्यान्सर विरुद्ध सरकारले यही माघ २२ गतेबाट देशभर यस विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्दैछ । फागुन ६ गते सम्म चल्ने अभियान सर्लाहीको लालबन्दी नगरपालिकासहित मधेश प्रदेशमा भने माघ २३ गतेबाट अभियान शुभारम्भ हुनेछ ।

१० देखि १४ वर्षसम्मका किशोरीहरुलाई लक्षित गरी दिईन लागेको खोप अभियान अन्तरगत लालबन्दीका सबै विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीहरु र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष सम्मका किशोरीहरु लाभान्वित हुनेछन् ।
लालबन्दी नगरपालिकाले आज नगर स्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीहरुको लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै अभियान अन्तरगत लालबन्दीका सबै १० देखि १४ वर्षसम्मको ४ हजार ६ सय ६० किशोरीहरुलाई खोप दिईनेछ ।
खोप अभियान सम्पन्न गर्नका लागि नगरका सबै विद्यालयहरुलाई खोप केन्द्र बनाइएको नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानीले बताए । उनका अनुसार अभियान सम्पन्न गर्न १०५ जना महिला स्वास्थ्य स्वयमसेविका, प्रत्येक वडामा दुई दुई जना स्वास्थ्यकर्मीसहित सबै विद्यालयका शिक्षकशिक्षिका परिचालन गरिनेछ ।
नगर स्तरीय खोप समन्वय समितिका अध्यक्ष समेत रहेका लालबन्दी नगर प्रमुख बासुदेव अधिकारकिो अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक राजकुमार सिंहले गरेका थिए ।
अभिमुखिकरण कार्यक्रमका क्रममा स्वास्थ्य निरीक्षक सिंहले एचपिभी खोपको कुनै पनि साईड ईफेक्ट नभएकोले ढुक्कसँग खोप लगाउन सकिने बताए । पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुनेको दर अत्यधिक रहेकोले मृत्युदर घटाउन मात्रै नभई क्यान्सर हुनबाट जोगिन भएपनि सबै किशोरीहरुले यो खोप लगाउनु पर्ने बताए ।
त्यस्तै नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानीले एचपिभी खोप अभियान पहिलो पटक सुरु भएकोले यो पटक १० देखि १४ वर्ष सम्मका किशोरीहरुलाई खोप दिईने र आगामी वर्षदेखि कक्षा ६ का छात्रा अर्थात १० वर्षका बालिकाहरुलाई मात्रै खोप दिईने भएकोले यो अभियानको उदेश्य कोही पनि नछुटुन् भन्ने रहेको बताए । उनले भने,‘आउँदो वर्ष देखि अहिले कक्षा ५ मा पढ्दै गरेका बालिकाहरु कक्षा ६ मा पुग्छन् र उनीहरुले मात्रै खोप पाउँछन् । त्यसैले यो पटक कक्षा ६सहित १० सम्मका किशोरीहरुले पनि यो खोप लगाउने अवसर एक पटकलाई पाएको हुनाले कोही पनि नछुट्नु होला ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव अधिकारीले यो खोप अभियान अत्यन्तै महत्वपूर्ण अभियान भएकोले सफल पार्न सबैलाई आग्रह गरे । उनले अभियानबारे र खोपको महत्वबारे आम नागरीकलाई सुसुचित गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
कार्यक्रममा विभिन्न सञ्चारगृहमा आवद्ध सञ्चारकर्मी, विभिन्न वडाका वडाअध्यक्ष, सबै स्वास्थ्य चौकीका प्रमुखहरु, विभिन्न विद्यालयका शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको थियो ।