भाइरल पोष्ट, हरिपूर्वा
माघ ११ गते । सर्लाहीको हरिपुर्वामा साँढे दुई किलोमिटर सडक कालोपत्रे हुने भएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित पशु सेवा केन्द्रदेखि पश्चिम धनकौलहुँदै डुमरियासम्म जोड््ने २.५ किलोमिटर सडक कालोपत्रे सडकको आज विहान मेयर, उपमेयर, वडाअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले संयुक्त रुपमा पुजापाठसहित शिलान्यास गरेका छन् ।
संघीयतापछि स्थानीय तह कायम भएदेखि हरिपुर्वामा अहिलेसम्म पालिका स्तरको बजेटबाट एक ईन्च पनि कालोपत्रे भएको थिएन । जनप्रतिनिधिबीचमा विवादै विवाद हुने गरेको कारण यहाँका योजनाहरु आर्थिक वर्षान्तमा मात्रै सुरु हुने गरेको थियो । त्यस्तो योजनाहरु हत्तार हत्तार सञ्चालन गर्नुपर्ने हुँदा सडकहरु कालेपत्रे गर्न सकिएको थिएन । बाँके–संग्रामपुर हुलाकी सडक आयोजनाले गरेको कालोपत्रेबाहेक हरिपुर्वामा पालिका मातहतको कुनै पनि सडक ‘पिच’ हुन सकेको थिएन । यहाँ भएको थियो त केवल सडकहरुको ग्राभेल र ढलान मात्रै तर अब पालिकाको बजेटले नै यहाँका सडकहरु पिच हुने भएपछि नगरवासीमा थप उत्साह पलाएको छ ।
नगरकै योजनाबाट हुने कालोपत्रे सडकको पूजापाठसहित नगर प्रमुख विनोद कुमार साह, उपप्रमुख सुमित्रादेवी ग्वारनी, हरिपूर्वा ६ का वडाध्यक्ष रामसोगारथ राय यादव र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले संयुक्त रुपमा शिलान्यास गरेको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले दिएको जानकारी अनुसार उक्त सडक कालोपत्रेका लागि ९ करोड ४५ लाख ६६ हजार ५६२ रुपैयाँ २ पैसामा ठेक्का लगाइएको छ । संघीय समपुरक अनुदानबाट बहुवर्षे योजना अन्तर्गत सडक कालोपत्रे हुन लागेको प्रमुख प्रशासकीय अधिकृत साहले बताएका छन् ।
२०८३ साल साउन २० गतेभित्र सडक कालोपत्रेको काम पूरा गर्ने ठेक्का सम्झौतामा उल्लेख छ । उक्त सडक कालोपत्रे गर्नका लागि राष्ट्रिय योजना आयोग र हरिपुर्वा नगरपालिकाले आधा÷आधा बजेट बेहोर्ने सम्झौता गरेका छन् ।