भाइरल पोष्ट, सर्लाही
माघ ३ गते । सर्लाहीको छटौनामा महाविरी झण्डा मेला सुरु भएको छ ।
बलरा नगरपालिका ११ स्थित छटौनामा लागेको मेलाको जनमत पार्टीका सर्लाही ईन्चार्ज श्रीचन यादव(सुजन)को प्रमुख आतिथ्यतामा वडा नम्बर ११ का वडाअध्यक्ष सुखलाल सहनीले उद्घाटन गरेका हुन् ।
साँस्कृतिक जागरण र विकासको उदेश्यसहित छटौनावासीको अथक प्रयासमा आयोजित ऐतिहासिक महावीरी झण्डा मेलामा खेलकुदसहित विभिन्न मनोरञ्जन तथा साँस्कृतिक कार्यक्रमहरु राखिएका छन् ।

मेलाको शुभारम्भ कार्यक्रममा ५ हजार जना भन्दाबढी स्थानीय तथा मेलाप्रेमीहरुको सहभागितामा शुभारम्भ भएको मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रीचन यादव(सुजन)ले ‘सबका साथ सबका विकास’ भन्ने उदेश्यले मेलाको आयोजना हुनु छटौनावासीको लागि गौरवको कुरा भएको बताए । विभिन्न उत्सव तथा चाडपर्वहरुको अवसरमा लाग्ने मेलाहरुले संस्कृतिको जगेर्ना गर्नुको साथै विकासको चेतना फैलाउन सक्नु पर्ने उनको धारणा थियो ।
मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष सुखलाल सहनीले नगरपालिकाले मेला आयोजना गर्नको लागि कुनै पनि सहयोग नगरेको गुनासो गरे । उनले गाउँलेहरुको अथक प्रयासबाट ऐतिहासिक मेला आयोजना गरिएको बताउँदै उनले मेलामा कुनै पनि निषेधित कार्य नगर्न सबैलाई आग्रह गरे ।