भाइरल पोष्ट, सर्लाही
पौष २८ गते । महाविरी झण्डा मेला लगायतका मेला पर्वमा हुने विकृति रोक्न छटौनामा समाज सुधारक परिचालन कमिटी गठन भएको छ ।
पछिल्लो समय विशेषगरी महाविरी झण्डा मेला तथा अन्य पर्वमा समेत विकृति बढ्दै गएको भन्दै त्यसलाई रोक्न बलरा नगरपालिका ११ छटौनाका वडाअध्यक्ष सुखलाल सहनीको अध्यक्षतामा २४० सदस्यीय समाज सुधारक परिचालन कमिटी गठन गरिएको हो ।

नव गठित कमिटिले महावीरी झण्डा मेला तथा अन्य पर्वमा समेत हुने गरेको विकृतिलाई रोक्न पहल गर्ने छ । कमिटिले अवदेखि झण्डामेला तथा अन्य पर्वको अवसरमा आयोजना गरिने मेलाहरुमा रक्सी बेच्न नपाउने, जुवा, तास, लङ्गुरबुर्जा जस्ता खेल खेलाउन नपाईने, अश्लिल तथा भड्किला किसिमको नाचगानमा प्रतिवन्ध लगाउने, मेलाका क्रममा हुने अप्रिय घटना रोक्न क्रियाशिल हुने र घटना भइहालेमा त्यसको क्षतिपूर्ति मेला आयोजकबाट भराउने लगायतका काम गर्नेछ ।
त्यसैगरी समाज सुधारक समितिले मेलाहरुमा हुने विकृति रोक्न जनचेतना फैलाउने कार्य गर्ने, निषेधित कार्य रोक्न अनुरोध गर्ने र अटेर गर्नेलाई कानूनी कार्वाही गर्ने समेत जनाएको छ ।
समितिका अध्यक्ष सहनीले मेला पर्वको नाममा पछिल्लो समय समाजमा विकृति फैलिएको र त्यस्ता विकृतिले समाजलाई गलत दिशातर्फ धकेल्ने भएकोले आफूहरुले त्यस्ता विकृति रोक्न पहल गर्ने उदेश्यले समिति गठन गरिएको बताए ।
त्यस्तै समिति गठन गर्न आयोजित भेलालाई सम्बोधन गर्दै जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादव(सुजन)ले गाउँघरमा विभिन्न पर्वका अवसरमा लाग्ने मेलाहरु विकृति र विसंगतिरहित हुनुपर्ने बताए । उनले नव गठित समितिलाई कार्यसफलताको शुभकामना दिँदै समाजलाई सही बाटो हिडाउने दायित्व हामी सबैको भएको बताए ।