भाइरल पोष्ट, लालबन्दी
पौष १६ गते । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा सर्लाहीका विश्वमणि थापा एक्ला र बलिया दाबेदारका रुपमा अगाडि देखिएका छन् ।
क्रान्तिकारीमा ३२ वर्षे उमेर हद कायम हुने भएपछि क्रान्तिकारीका मधेश प्रदेशका निवर्तमान उपमहासचिव रहेका थापा मधेश प्रदेशबाट अध्यक्षमा उमेदवारी दिने एक्ला र बलिया दाबेदार बनेका हुन् ।
पार्टी केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिब जनार्दन शर्मा निकट नेता मानिएका थापा मधेस प्रदेशबाट अध्यक्षको दाबेदारि गर्ने पहिलो नेता समेत हुन । अखिल क्रान्तिकारीको इतिहासमा स्व. डाचाराज वाग्लेबाहेक मधेसबाट कोहि पनि अध्यक्ष भएका छैनन् ।
थापा प्रष्टवक्ता, राम्रो वाककला र तार्किक क्षमता भएका विद्रोही स्वभावका बौद्धिक नेता भएकै कारण उनले अखिल क्रान्तिकारीको नेतृत्व हाक्न सक्ने माओवादी नेताहरुको दाबी छ । उमेर लागू हुने भएपछि अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उमेदवार बाहिरिने छन् । यस्तोमा थापा सहित तल्लो वरियतामा रहेका नेताहरुले मात्रै पदाधिकारीमा प्रतिष्पर्धा गर्न पाउने भएपछि मधेशबाट केन्द्रीय अध्यक्ष बन्ने थापाको सम्भावनालाई बलियो ठानिएको एक विद्यार्थी नेताले बताए ।
अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चुन्दा उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा विवाद थियो । यही विवादका कारण गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित २३औँ राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएको थियो । यो विवादको छिनोफानो गर्न अखिल क्रान्तिकारीले लोकतान्त्रिक प्रक्रिया अपनाएको थियो । ३२ वर्षे उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा मतदान हुँदा उमेर हद लागु गर्नुपर्ने पक्षमा ९०० र उमेर हद लागू नगरी खुला प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा ८७९ मत परेको थियो । शनिबार भएको निर्वाचनको आइतबार राति अबेर मात्रै मतपरिणाम सार्वजनिक भएको थियो ।
अब ३२ वर्षसम्मकाले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु चुनिनेछ । नयाँ कार्यसमिति चयनका लागि आगामी माघ १२ गते निर्वाचन कार्यक्रम छ । अखिल क्रान्तिकारीमा उमेर हद सबै तहका कमिटीमा लागू हुनेछ । फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले केन्द्रदेखि प्रदेश र जिल्ला तहका कमिटीसम्म अब ३२ वर्षे उमेर हद लागू हुने बताए । इकाइ कमिटीमा भने यसअघि नै ३२ वर्षे उमेर हद लागू भइसकेको छ ।
अखिल क्रान्तिकारीको विधानमा २४३ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । पदाधिकारी ३३ जना रहने गरी बनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने गरी प्रावधान बनाइएको छ ।
उमेर हद लागू हुँदा २२ औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, गजेन्द्र देवलगायत प्रतिस्पर्धाबाट बाहिरिने छन् ।
यस्तै, संगठनका निवर्तमान महासचिव दीपेश पुन पनि अब उम्मेदवार बन्न पाउने छैनन् ।