सोम दियाली, हरिवन
पौष १५ गते । सर्लाहीको हरिवनमा सहिद सुखदेव महतो स्मृति प्रतिष्ठान गठन भएको छ । नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि पिताम्वर महतोको अध्यक्षतामा १५ सदस्यीय प्रतिष्ठान गठन गरिएको हो ।
नेपाली काँग्रेस हरिवन २ का वडासभापति लुङ्गुदोर्जे वाईवाको अध्यक्षता तथा संविधानसभा सदस्य एवम् पूर्वमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा एक भव्य कार्यक्रमको आयोजना गरी प्रतिष्ठान गठन गरिएको त्यहाँका वडाअध्यक्ष अर्जुन योन्जनले जानकारी दिए ।
महतोको अध्यक्षतामा गठिन प्रतिष्ठानको उपाध्यक्षमा खुशिलाल महतो, सचिवमा डिल्ली प्रसाद मैनाली र कोषाध्यक्षमा तारा घलान चयन भएका छन् भने अन्य सदस्य चुनिएका छन् । प्रतिष्ठान गठन गर्न आयोजित कार्यक्रमको विशिष्ट अतिथीहरुमा नेपाली काँग्रेसका जिल्ला उपसभापति डा.सरोज यादव, र सचिव निरज कार्की हुनुहुथ्यो ।

त्यस्तै हरिवन २ का वडाअध्यक्ष अर्जुन योन्जन, नेपाली काँग्रेस सर्लाही क्षेत्र १ (ख) का सभापति सिताराम दाहाल, हरिवन नगर प्रमुखका प्रत्यासी रामप्रसाद मैनाली, नेपाली काँग्रेस हरिवनका सभापति रामशरण उप्रेती, नेपाली काँग्रेस लालबन्दीमा सभापति प्रशान्त आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी, विशिष्ट अतिथी तथा अतिथि वक्ताहरुले सहिद सुखदेव महतोको योगदानको चर्चा गर्दै उनको स्मृतिमा प्रतिष्ठान गठन हुनु गौरवको विषय भएको बताएका थिए । वक्ताहरुले नव गठित प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
सहिद सुखदेव महतो नेपाली काँग्रेस साविक अत्रौली गाविसको सभापति तथा नेपाल किसान संघको केन्द्रीय पार्षद थिए । बहुदल प्राप्तीपछि २०४७ सालमा भएको निर्वाचनमा उनी तत्कालीन अत्रौली गाविसको उपाध्यक्षमा निर्वाचत भएका थिए ।
उनको सशस्त्र माओवादी द्वन्दको क्रममा तत्कालीन माओवादी विद्रोही पक्षको आक्रमणमा परि २०५९ साल वैशाख २१ गते मृत्यु भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।
यसैबीच, तत्कालीन अत्रौली गाविसका वडाअध्यक्ष रहेका खुशिलाल महतो(जो प्रतिष्ठानका उपाध्यक्ष पनि हुन्)सहित तीन जना एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीसहित दिनेश महतो र रंजित महतो पनि नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई प्रमुख अतिथीसहितका अतिथीहरुले फुलमाला अबीर लगाई नेपाली काँग्रेसमा स्वागत गरेका थिए ।