भाइरल पोष्ट, कविलासी
पौष ९ गते । कविलासी नगरपालिकाका जनप्रतिनिधिहरुले नगरमा विकास निर्माणका कार्य निरन्तर भइरहेकोले दाबी गरेका छन् ।
अढाई वर्षे कार्य प्रगति सार्वजनिक गर्न मंगलवार(आज) आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख मेयर ब्रह्मदेव रायले आफूले निर्वाचित भएयता नगरमा थुप्रै परिवर्तन भई सकेको दाबी गरे । आफूले चुनावमा गरेको वाचा अनुरुप नै काम गरिरहेकोले आम नागरीकका आकांक्षा क्रमशः पूरा गर्दै जाने बताए ।
उनले भने,‘हामी निर्वाचित भएदेखि नै निरन्तर जनताकै काममा लागि रहेका छौं । शिक्षा, स्वास्थ्य, सडक, विजुली, कृषि जस्ता जनताका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेर काम भइरहेको छ ।’ उनले नगरका विभिन्न स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टर निर्माण, विभिन्न गाउँ तथा वडाहरुलाई जोड्ने सडकहरुको स्तरोन्नती, ढलान तथा कालोपत्रे, कृषि विद्युतीकरण लगायतका कार्यहरु भइरहेकोले केही पनि भएन भन्नेहरुले नगरमा भइरहेका विकास निर्माणका काम आफै आएर हेर्न आग्रह गरे ।
भवनको अभावमा प्रशासनिक कार्य गर्न भइरहेको असहजतालाई अन्त्य गर्न आगामी चैत्र भित्र नगरपालिकाको नयाँ प्रशासनिक भवन तयार गरी नयाँ भवनबाटै कार्य सञ्चालन गर्ने तयारी रहेको बताउँदै केही ठेकेदारहरुको लापरवाहीका कारण नगर अस्पतालसहित केही विकास निर्माणको काममा ढिलासुस्ती भएको स्वीकार्दै अब त्यस्तो हुन नदिने बताए ।
पत्रकार सम्मेलनका क्रममा उपमेयर पुनम कर्णले कर्मचारीको अभावमा न्यायिक कार्य सम्पादनको कार्यमा सोचेजसरी कार्य गर्न नसकिएको बताईन् । उनले नगरमा विकास निर्माणका कामहरु भइरहेको र ती कामहरु क्रमशः देखिन थालेकोले नगरवासीलाई चिन्ता नगर्न आग्रह गरिन् । उनले आफू उपमेयर भएपनि आफूसँग नगरको कामको विषयमा कसैले सरसल्लाह नै नगर्ने गर्दा केही दुःख लागेको बताईन ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतोले नगरमा सबै योजना तथा कार्यक्रमहरु नीतिसंगत नै हुने गरेकोले दाबी गरे । उनले एक टेलिभिजन अन्तरवार्तामा भनिएजस्तो मलखाद वितरणमा कुनै अनियमितता नभएको बताए । उनले वास्तविकता नबुझी समाचार सम्प्रेषण नगरीदिन पत्रकारहरुलाई आग्रह गरे । कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरुले समेत आ–आफ्नो वडामा भएका विकास निर्माणका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।