सोम दियाली, लालबन्दी
पौष ३ गते । लालबन्दीमा आज क्षयरोग अर्थात टिबी रोग सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
जनजीवन विद्याश्रम मावि जुटपानी, नेत्रगञ्ज प्रावि गैरी र पाँचकुमार प्रावि पुनरवासको सहयोगमा आधारभूत स्वास्थ्य केन्द्र लालबन्दी २ ले एक कार्यक्रमको आयोजना गरी सचेतनामूलक नाटक प्रदर्शन गरेको हो ।
लालबन्दी नगरपालिका २ का वडाअध्यक्ष किरण कुमार पासवानको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी प्रदर्शित नाटकले क्षयरोग के हो ? यो कसरी सर्छ र यसबाट बच्न के के गर्नुपर्छ जस्ता सन्देश दिएको थियो ।
नवजीवन माविका शिक्षक उत्तम दाहालले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख सन्तोष कुमार साहले लालबन्दी २ मा गतवर्ष ८ जनामा क्षयरोग देखिएको र यसवर्ष पनि अहिले सम्म ७ जना क्षयरोगका विरामी फेला परेको जानकारी दिए । उनले सन २०५० सम्ममा विश्वबाट क्षयरोग निर्मूल गर्ने लक्ष्य अनुरुप नेपालमा पनि क्षयरोग निवारणको अभियानहरु सञ्चालन भइरहेको बताए । उनले श्वास प्रश्वास र हावाको माध्यमबाट फैलिने क्षयरोगबाट जोगिन आग्रह गर्दै नियमित औषधी सेवनले यो रोग निको हुने जानकारी दिए ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, जनज्योति बहुमुखि क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दिपक अधिकारी, जनस्वास्थ्य निरीक्षक सुरेन्द्र खतिवडा, रोशन चौधरी, नगर अस्पताल लालबन्दीका अहेव ललेन्द्र कुमार साह, पत्रकार कृष्ण थपलिया, सोम दियाली र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
पुनरवासस्थित सल्हेश मन्दिर परिसरमा प्रदर्शन गरिएको नाटकमा सन्तोष कुमार साह, मन्जु विक, काजल साह, अमर कुमार महतो, युवराज पोखरेल, गिता पासवान, मौसमी तामाङ्ग, पूजा पासवान, नरेश पासवान र शम्भु महतोले जीवन्त अभिनय गरेका थिए ।