राजु तामाङ, हरिपुर
कार्तिक ५ गते सोमबार । सर्लाहीको हरिपुर नगरपालिका २ सानो जगतपुरमा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा चेतना सन्देश नेपाल र रोमन फुटबल युथ क्लबले बिजयी सुरुवात गरेको छ ।
हरिपुर नगरपालिका २ नम्बर वडा कार्यालयको प्रायोजनमा नव संघर्षशील युवा क्लबले आयोजना गरेको प्रतियोगितामा सोमबार दुई खेल भएका थिए । पहिलो खेलमा चेतना सन्देश युथ क्लवले जनसहयोगी युवा क्लबलाई र र दोस्रो खेलमा रोमन युथ क्लवले एभरेस्ट फुटबल एकेडेमी लालबन्दीलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।
चेतना सन्देश युथ क्लव र जनसहयोगी युवा क्लबबीच भएको पहिलो खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि ट्राइ ब्रेकरमा चेतना सन्देश नेपालले जनसहयोगी युवा क्लबलाई ५–४ गोल अन्तरले पराजित गरेको थियो ।
खेलको २३औं मिनेटमा जनसहयोगी युवा क्लबका सुशान्त लामाले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफको १७औं मिनेटमा चेतना सन्देश नेपालका सन्जय थिङले गोल गरेपछि खेल बराबरीमा आएको थियो । निर्धारित समयमा पनि कुनै टिमले थप गोल गर्न नसक्दा खेल एक/एकको बराबरीमा सकियो र ट्राई ब्रेकरबाट चेतना सन्देश युथ क्लव विजयी भयो । पहिलो खेलको हिरो अफ दि म्याच घोषित हुँदै चेतना सन्देश नेपालका धिरज थिङले नगद ५ सय रुपैयाँ प्राप्त गरे ।
त्यस्तै दोस्रो खेल एभरेस्ट फुटबल एकेडेमी लालबन्दी विरुद्ध रोमन फुटबल क्लब बीच भएको थियो । एभरेस्ट एकेडेमीलाई २–० ले पराजित गर्दै रोमन फुटबल क्लब बिजयी भयो । रोमनको जितमा खेलको १०औं मिनेटमा आशिष स्याङ्तानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १७औं मिनेटमा आशिषकै क्रस पासमा पवन पाख्रिनले सुन्दर गोल गर्दै गोलअन्तर दोब्बर बनाए ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा एभरेस्ट फुटबल एकेडेमीले पनि राम्रो अवसरहरु प्राप्त गरे पनि गोल गर्न भने सकेन । सन्जयको खेलको १७औं मिनेटमा राम्रो प्रयास गरे साजनको पासमा अशोक स्याङ्तानले हानेको बल पोष्ट नजिकैबाट बाहिरियो । खेलको हिरो अफ दि म्याच पवन पाख्रिन घोषित हुँदै नगद ५ सय रुपैयाँ प्राप्त गरे ।
कार्तिक ३ गतेबाट सुरु भएको खेलमा १४ टिमको सहभागी रहेको छ । खेलको फाइनल १४ गते हुनेछ । प्रतियोगिताको प्रथम टिमले नगद पुरस्कार ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो हुने टिमले नगद पुरस्कार २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अमृत कुमार घिसिङले जानकारी गराए ।
भोलिको खेल भने तिनघरे एफ सी विरुद्ध गौरीशंकर युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।