सोम दियाली, मलंगवा
प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले दुई वर्षे प्रगति विवरण जिल्ला स्तरीय संवाद समिति समक्ष प्रस्तुत गरेको छ ।
केन्द्रकै आयोजना तथा जिल्ला समन्वय समिति सर्लाहीको समन्वयमा सदरमुकाम मलंगवामा शनिवार बसेको जिल्ला स्तरीय सम्वाद समितिको वैठकमा केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले सन २०२२ देखि २०२४ सम्म केन्द्रले सञ्चालन गरेको र हासिल गरेको प्रगति विवरण सम्वाद समिति समक्ष प्रस्तुत गर्नु भएको हो ।
बैठकमा प्रगति विवरण प्रस्तुत गर्नुहुँदै राष्ट्रिय स्रोत व्यक्ति विश्वकर्माले प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सातौं चरणको कार्यक्रम ‘शान्तिका लागि संग संगै’ अन्तरगत तय गरिएका सबै कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले अक्टोबर २०२२ देखी सेप्टेम्बर २०२४ सम्म ६ ओटा बहु–सरोकारवाला द्वन्द्व रुपान्तरण प्रक्रियामा सहजिकरण गर्ने लक्ष्य लिएकोमा ६ ओटै लक्ष्य हासिल गरेकोछ । त्यस्तै एक ओटा जिल्ला स्तरिय अभिमुखीकरण गोष्ठी गर्ने लक्ष्य लिएकोमा त्यो पनि सम्पन्न भएको छ भने २ ओटा जिल्ला स्तरिय संवाद समिति बैठक गर्ने लक्ष्य रहेकोमा दुई ओटै बैठक सम्पन्न भएकोछ । त्यस्तै २ ओटा रुपान्तरण भएको विवादको पुनरावलोकन गर्ने लक्ष्य लिएकोमा दुई ओटै सम्पन्न भएको र त्यति नै मेलमिलाप सम्बन्धी तालिम गर्ने लक्ष्य लिएकोमा त्यो सफलतापूर्वक सम्पन्न भएको छ ।
जिल्लामा सतप्रतिशत लक्ष्य हासिल गर्न सफल भएको जानकारी दिनुहुँदै राष्ट्रिय स्रोत व्यक्ति विश्वकर्माले लक्षित कार्यक्रम सञ्चालनका क्रममा आईपरेका चुनौती तथा सिकाईहरुलाई समेत वैठकमा पेश गर्नु भएको थियो ।
जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा जिसस उप–सभापति जितेन्द्रकुमार सिंह, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, संस्थाले कार्यक्रम संचालन गर्दै आएको पालिकाहरुका प्रमुख, उप–प्रमुखसहित जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
वैठकमा मन्तव्य राख्नुहुँदै जिसस प्रमुख कौशल किशोर सिंहले प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले सह्रानीय काम गरेको भएपनि यसको दायरा अझै बढाउनु पर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय तहमा जनप्रतिनिधिबीचको टकरावका कारण अधिकांश विवाद उत्पन्न हुने गरेको भन्नुहुँदै त्यस्ता विवादमा पनि केन्द्रले काम गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै जिसस उपसभापति जितेन्द्र कुमार सिंहले जिल्लाका सबै पालिकामा कार्यक्रम पु¥याउन प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रलाई आग्रह गर्नुभयो । ‘केन्द्रले अहिले जिल्लाका ५ ओटा पालिकामा मात्रै काम गरिरहेको छ । यसले जिल्लाका सबै पालिकामा काम गरोस भन्ने मलाई लाग्छ ।’, उपसभापति सिंहले भन्नुभयो ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ घिमिरेले नेपाली समाजमा द्वन्द रुपान्तरण केन्द्रको आवश्यकता बढेको बताउनुभयो । उहाँले भन्नुभयो,‘द्वन्द सबैतिर छ । तिनको समाधानको लागि केन्द्रले काम गर्न सक्छ भन्ने लाग्छ ।’
केन्द्रकी जिल्ला सहजकर्ता प्रज्ञा सापकोटाले संचालन गर्नु भएको वैठकमा मेलमिलाप तालिमका प्रशिक्षक भिमबहादुर विश्वकर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।