सोम दियाली, हरिपूर्वा
श्रावण ३२ गते । कुनै समय विवादै विवादको अखडा बनेको जिल्लाको हरिपूर्वा नगरपालिका अहिले भने लयको अग्रपंक्तिमा आएको छ ।
कहिले प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवाद त कहिले जनप्रतिनिधिबिचको हानाथापका कारण अस्तव्यस्त बनेको नगरपालिकाले अहिले भने गज्जबसँग गति लिन थालेको छ । आज(शुक्रबार) दुई ओटा विद्यालयको नयाँ भवन निर्माण कार्यको एकैपटक गरिएको शिलान्यासले वास्तवमै नगरपालिकाले गति लिन थालेको सन्देश प्रवाह भएको देखिएको छ ।

हुन त नगरपालिका हाक्न न जनप्रनिधि सक्षम भएर हुन्छ न त कर्मचारी सबल भएर मात्रै हुन्छ । पालिका चल्न त उचित वातावरण चाहिन्छ । वातावरण आफै बन्दैन यसलाई सबै मिलेर बनाउनु पर्छ । अहिले हरिपूर्वाले एउटा लय पक्रनुमा प्रमुख प्रशासकीय अधिकृतको समन्वयकारी भूमिका नै महत्वपूर्ण देखिएको छ ।
जब रौतहटका सिकिन्दर प्रसाद साह हरिपुर्वामा प्रमुख प्रशासकीय अधिकृत भएर आए त्यसपछि उनले जनप्रतिनिधिविच समन्वयात्मक भूमिका खेले । कार्यसम्पादन मूल्यांकनमा जिल्लाका अन्य पालिकाभन्दा निकै तल रहेको अवस्थामा पनि गत आर्थिक वर्षमा चित्तबुझ्दो ढंगले बजेट खर्च बढाए । अहिले आर्थिक वर्ष २०८१/०८२ को पनि समयमै नगरसभा गराए र नगरका योजनाहरुलाई कार्वान्वयनमा लगे । यसरी समयमै योजनाहरु सुभारम्भ गर्ने पालिकामा अहिले हरिपुर्वा जिल्लाको पहिलो बनेको छ ।

सामान्यतया नेपालमा बजेट समयमै विनियोजन भएपनि आर्थिक वर्षको मध्यतिर या अन्त्यतिर मात्रै योजनाका कामहरु अघि बढ्ने गरेकोमा हरिपुर्वामा भने आर्थिक वर्षको पहिलो महिनामै योजना सुभारम्भ हुनुले अब नगरमा विकास निर्माणका कामले तिब्रता पाउने अनुमान गर्न सकिन्छ ।
नगरपालिकाले नगरका योजनाहरुको शुभारम्भ एकैदिन दुई ओटा विद्यालय भवनको शिलान्यास गरेर गरेको छ ।
नगर प्रमुख विनोद कुमार साह तेली र नगर उप–प्रमुख सुमित्रा देवि ग्वारनीले हरिपूर्वा ९ मा संघीय सरकारको आठ करोड पाँच लाख ९६ हजार २५ रुपैयाँ ५६ पैसा विशेष अनुदानमा बन्ने रामजानकी माध्यमिक विद्यालय बसन्तपुर र वडा नम्बर ८ मा संघीय सरकारकै ८ लाख रुपैयाँ विशेष अनुदानमा बन्ने विद्यालय भवनको शिलान्यास गरेका छन् ।
वडा नम्बर ९ स्थित रामजानकी माध्यमिक विद्यालयमा बहुवर्षे योजना अन्र्तगत नेशनल अपर जे.भि.कन्ट्रक्सनले निर्माण गर्ने भवन सुविधा सम्पन्न भवन बन्ने छ । तीन वर्षमा निर्माण सम्पन्न हुने भवनमा २ तले प्रशासनीक भवन, पुस्तकालय र चमेनागृह तथा तीन तल्ले विद्यालय भवन निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत सिकिन्दर प्रसाद साहले बताए ।

त्यस्तै संघ सरकारकै २५ लाख रुपैयाँ विशेष अनुदानमा वडा नम्बर ८ स्थित कन्या आधारभूत विद्यालयमा बन्ने भवनको पनि मेयर साह तेली, उपमेयर ग्वारनी र वडा नम्बर ८ का वडाअध्यक्ष रामेश्वर रायले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
रामजानकी माविका प्रधानाध्यापक सन्तोष ठाकुरले नयाँ भवन निर्माण भएपछि पठनपाठनमा थप सहजता आउने विश्वास व्यक्त गरे । उनले विद्यालयको भवन निर्माणसँगै शैक्षिक गुणस्तर सुधारमा समेत नगरपालिकाले थप कामहरु गर्ने विश्वास समेत व्यक्त गरे ।
मेयर साह तेलीले भवनको शिलान्यासपछि पत्रकारहरुसँग कुरा गर्दै हरिपुर्वामा पहिलो पटक यतिधेरै बजेटको योजना शिलान्यास गरिएको दावी गरे । उनले आफूले आफू मेयरमा निर्वाचित हुनु अघि नै हरिपुर्वाको स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकास र सुधारमा काम गर्ने उद्घोष गरेको बताउँदै छिट्टै नै नगरका विद्यालयहरुमा देखिएको शिक्षक अभावलाई पूर्ति गर्ने, १५ सैयाको नगर अस्पताल सञ्चालनमा ल्याउने लगायतका महत्वपूर्ण कामहरु अघि बढाईने बताए ।

उनले अहिले पहिला जस्तो जनप्रतिनिधिहरुबीचमा मनमुटाव र टकराव नरहेकोले यो वर्ष नगरपालिकाको कार्य सम्पादनमा सहजता आउने र नागरीकले सास्तीको सामाना गर्नु नपर्ने दाबी गरे ।