सोम दियाली, हरिपुर
असार २०। सर्लाहीको हरिपुर नगरपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।

हरिपुर नगरपालिकाको आयोजना तथा साकार मिडिया सेन्टरको सहजीकरणमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाले विषयगत शाखा तथा वडाकार्यालयहरुबाट आर्थिक वर्ष २०८०÷८१ म सञ्चालन गरेको र सम्पादन भएको विकास निर्माणको काम र विभिन्न आयोजनाहरुको विषयमा नागरीकलाई जानकारी दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मेयर गोपाल पंजियारले आर्थिक वर्ष २०८०÷८१ मा चालूतर्फ ७१ प्रतिशत बढी र पूँजीगततर्फ ४० प्रतिशतभन्दा बढी खर्च भएको जानकारी दिनुभयो । उहाँले सिमित स्रोत साधन र अन्य विभिन्न कारणले विकास निर्माणको कामलाई सोचे जस्तै अगाडि बढाउन नसकिएको बताउनुभयो । उहाँले आगामी दिनहरुमा वडाअध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको सहयोगमा नागरीकका अपेक्षालाई पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा सहभागीहरुले नगरपालिका तथा वडाकार्यालयहरुको सेवा प्रवाह ठिकै रहेकोले यसमा थप सुधार गर्दै लैजानुपर्ने सुझाव दिएका थिए भने बालविवाह, विकास निर्माणका कार्यहरु, सडक, विजुली, खानेपानीको अभाव लगायतका विषयमा जनप्रतिनिधिहरुले किन सोचे अनुरुप काम गर्न नसकेको भनेर प्रश्न गरेका थिए ।

कार्यक्रममा वडाअध्यक्षहरुले चालू आवमा वडाकार्यालयहरुले सम्पादन गरेका काम, सम्पन्न गरेका आयोजनाहरुका विषयमा जानकारी दिएका थिए भने कार्यक्रममा उठेका प्रश्नहरुको समेत जवाफ दिएका थिए ।