सोम दियाली, हरिवन
असार ६ गते । कसैले मिलाउन नसकेको ५०औं वर्ष पुरानो बाटो सम्बन्धी विवाद माकुरा समूहले मिलाएपछि हरिवन ९ दनुवारीका स्थानीय खुशि भएका छन् । विवाद मिलेपछि उनीहरुले एकआपसमा खुशि साटासाट समेत गरेका छन् ।

हरिवन ९ दनुवारीदेखि डुम्रीघारीसम्म जाने बाटोको विवाद समाधान गरी गाउँलेहरुबीच सुमधुर सम्बन्ध कायम भएको छ । द्वन्द्व रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल र माकुरा समूहलाई विवादमा संलग्न पक्ष तथा सरोकारवालाहरुले धन्यवाद दिएका छन् ।
हरिवन ९ स्थित उत्पन्नेश्वर महादेव मन्दिर परिसरमा आज द्वन्द रुपान्तरणको साझा विकल्प पारित गर्न आयोजित संयुक्त वैठकमा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले गठन गरेको माकुरा समूहले द्वन्द रुपान्तरणको प्रक्रिया अनुरुप सहजीकरण गरी द्वन्दरत पक्षहरु सबैसंग अलग–अलग छलफल गरी संकलन गरिएको बिकल्पको धारणाहरुको आधारमा सबैलाई जितजितको अवस्थामा पु¥याउने गरी तयार गरेको साझा सहमतिमा पत्रमा हस्ताक्षर गर्दै उनीहरुले विवाद समाधानमा महत्वपूर्ण भूमिका खेलेर सराहनीय कार्य गरेको भन्दै प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्मा, जिल्ला सहजकर्ता प्रज्ञा सापकोटा, हरिवन ९ का वडाअध्यक्ष कोकिलानन्द उप्रेती, हरिवनका संस्थापक मेयर गणेश प्रसाद प्रसाई, मधेश प्रदेश सभाका पुर्व सदस्य डिल्ली प्रसाद उप्रेतीसहित अन्य सरोकारवालाहरुलाई धन्यवाद दिएका हुन् ।
द्वन्दरत पक्ष स्थानीय सरस्वती महतले भन्नुभयो, ‘बाटो सम्बन्धी विवादले गाउँलेहरुबीच मारकाटको स्थिति सिर्जना भएको थियो । कसैले समाधान गर्न सकेको थिएन । माकुरा समूहले समाधान गरेर गाउँलेहरुबीच खुशि ल्याईदिएको छ ।’
त्यस्तै द्वन्दरत पक्षकै स्थानीय उमेश दाहालले पनि माकुरा समूहले अत्यन्तै सुक्ष्म ढंगले विवादको किनारा लगाएको भन्नुहुँदै खुशि व्यक्त गर्नुभयो । उहाँले माकुरासमूहसहित सबै पक्षलाई धन्यवाद दिनुभयो ।
त्यस्तै स्थानीय रामबहादुर धिताल, लोकबहादुर कोइराला, चुडामणि दाहाल, कृष्ण विश्वकर्मा, रामबाबु मैनाली लगायतले पनि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र र माकुरा समूहलाई धन्यवाद दिनुभयो ।

त्यसैगरी सरोकारवाला पक्षको तर्फबाट समाजसेवी चुडामणि वाग्ले, डाकुरनाथ खतिवडा, सिताराम पोखरेल लगायतले पनि कसैले पनि मिलाउन नसकेको विवाद प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र मार्फत माकुरा समूहले मिलाएर सराहनीय कार्य गरेको बताउनुभयो ।
समाजसेवी चुडामणि वाग्लेले यो विवाद समाधानमा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र सफल भएर छोड्नेमा आफूलाई पहिले नै विश्वास लागेको र सोही अनुरुप भएको बताउनुभयो । उहाँले जिल्लाका अन्य ठाउँका विवाद समाधानमा पनि द्वन्द रुपान्तरणको प्रक्रिया र विधि अनुरुप नै केन्द्रले काम गरेको आफूले देखेकोले यो विवाद पनि मिल्छ भनेर पहिले नै महसुस भएको बताउनुभयो ।
त्यस्तै हरिवन ९ का पूर्व वडाअध्यक्षसमेत रहनुभएका सिताराम पोखरेलले स्थानीय सरकारले मिलाउन नसकेको विवाद प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले मिलाएको बताउनुभयो । उहाँले प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले द्वन्द रुपान्तरण प्रक्रिया अनुरुप द्वन्दरत पक्षहरुबाटै सहमति खोज्ने भएकोले यसले गरेको काम दिगो हुने पनि बताउनुभयो ।
त्यस्तै हरिवन ९ का वडाअध्यक्ष कोकिलानन्द उप्रेतीले प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले काम नगरेको भए विवाद कायमै रहने बताउनुभयो । उहाँले विवाद समाधानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
साझा सहमतिका बिकल्प पारित गर्न आयोजित संयुक्त बैठकको सञ्चालन केन्द्रकी जिल्ला सहजकर्ता प्रज्ञा सापकोटाले गर्नुभएको थियो भने सहजीकरण राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले गर्नुभएको थियो । राष्ट्रिय स्रोत व्यक्ति विश्वकर्माले आफूहरुले द्वन्दरत पक्षहरुसँग बसेर उहाँहरुकै राय सुझावका आधारमा सहमतिको खाका तयार गरेको र सबै पक्षले त्यसलाई अनुमोदन गर्नुभएको भन्दै खुशि व्यक्त गर्नुभयो ।
उहाँले विवाद समाधानमा भुमिका खेल्ने पूर्व प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाका संस्थापक मेयर गणेश प्रसाद प्रसाई, हालका मेयर कमल बुढाथोकी, उपमेयर हरिमाया घलान वड अध्यक्ष कोकिलानन्द उप्रेती सहित द्वन्दरत पक्ष तथा सबै सरोकारवालालाई धन्यवाद दिनुभयो ।
यो विवाद समाधानका लागि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले माकुरा समूह गठन गरी २०८० साल पुस १२ गतेबाट विवाद समाधानको प्रक्रिया सुरु गरेको थियो । सो क्रममा माकुरा समूहले पटक पटक द्वन्दरत पक्षहरुसँग अलग अलग तथा संयुक्त छलफल गरी अन्ततः सहमतिको खाका तयार गरेको थियो ।