भाइरल पोष्ट, चन्द्रनगर
जेष्ट ५ गते । नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट सातसय भन्दा बढीले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् ।
नेपाली सेनाको श्री भैरवीदल गण पाँचकुमारी व्यारेकले चन्द्रनगर गाउँपालिकाको सहयोग तथा फिल्ड अस्पताल बर्दिवास, नगर अस्पताल लालबन्दी, सर्लाही ईमेजिङ्ग एण्ड डाईगोनोष्टिक सेन्टर लालबन्दी र सत्यनाम अस्पताल नवलपुरको सहकार्यमा चन्द्रनगर गाउँपालिका ७ स्थित नाडीमन ताल परिसरमा आयोजना गरेको एक दिने निःशुल्क स्वास्थय शिविरबाट ७०८ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएको नेपाली सेनाको पाँचकुमारी ब्यारेकले जानकारी दिएको छ ।
शनिवार विहान ८ बजेदेखि साँझै सम्म चलेको शिविरमा पाँचकुमारी ब्यारेकका निमित्त गणपति सेनानी पवन शिष्टको कमाण्डमा १÷१५, फिल्ड अस्पताल बर्दिवासको प्रा. प्र.से.डा. कविता कर्माचार्यको कमाण्डमा १÷२५, लालबन्दी नगर अस्पतालको डा.राम विश्वस रायको नेतृत्वमा १÷१९ जना, सत्यनाम हस्पिटल प्रा.लि.का डा.अनिल नेतृत्वमा ५ जना र चन्द्रनगर गा.पा. स्वास्थ्य शाखाका डा. अमीतको नेतृत्वमा १÷९ जनाको संयुक्त टोलीले निःशुल्क स्वास्थ्य जाँच गर्नुभएको थियो । शिविरमा सेवाग्राहीहरुलाई स्वास्थ्य जाँच तथा उपचारसहित औषधीसमेत निःशुल्क वितरण गरिएको थियो ।
निःशुल्क शिविरमा प्रसुती तथा स्त्री रोग सम्बन्धी ८० जनाले सेवा लिएका छन् । त्यस्तै बाल रोग सम्बन्धी २३९ जना, मनोरोग सम्बन्धी ७ जना, दन्तरोग सम्बन्धी ८५ जनाले सेवा लिएका छन् । त्यसतै शिविरमा ८० जनाले भिडियो एक्सरे सेवा लिएका छन् भने ७० जनाले नाक, कान, घाँटी सम्बन्धी सेवा लिएका छन् । त्यस्तै ५५ जनाले आँखासम्बन्धी सेवा लिएको श्री भैरवी दलगण पाँचकुमारी ब्यारेकका निमित्त गणपति सेनानी पवन विष्टले जानकारी दिनुभयो ।
सेनानी विष्टका अनुसार शिविरमा नागरीकको स्वास्थ्य चेकजाँचसहित उनीहरुलाई जिल्लामा भईरहेको आगलागि सम्बन्धी सचेनता, विपद् व्यवस्थापन, सर्पदंशको उपचार, नेपाली सेनामा भर्ना, मेन रिस्क एजुकेसन, हिट वेव सम्बन्धी कक्षा समेत प्रदान गरिएको थियो ।
साथै शिविर सम्पन्न गर्नमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई प्रसंसा पत्रबाट सम्मान गरिएको पनि नेपाली सेना भैरवीदल गण पाँचकुमारी व्यारेकले जनाएको छ ।