भाइरल पोष्ट, लालबन्दी
वैशाख २२ गते । सर्लाहीको बलरामा माओवादी पार्टीसहित अन्य पार्टी परित्याग गरी २०० जना नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनमत पार्टीको नव गठित बलरा नगर कमिटीको सपथ ग्रहण, प्रथम वैठक तथा पार्टी प्रवेश कार्यक्रमको अवसरमा माओवादी नेता विनोद पटेलको नेतृत्वमा नेकपा माओवादीसहित अन्य पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी बलरा नगर कमिटिले जनाएको छ ।
विनोद साह गएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट बलरा नगरपालिका ७ को वडाअध्यक्षमा चुनाव लडेका थिए । वडाअध्यक्षमा ४० मतअन्तरले पराजित भएका उनी पछिल्लो समय डा.सिके राउत नेतृत्वको जनमत पार्टी प्रति आकर्षित हुँदै गएका थिए । 
‘माओवादी पार्टीमा बस्न मनै लागेन । समाज र राष्ट्रको लागि आवश्यक पार्टी नै जनमत पार्टी हो भन्ने निष्कर्षमा पुगे र उपयुक्त समय हेरेर आज जनमत पार्टीमा प्रवेश गरें’, नव प्रवेशी पटेलले भने, ‘अबको यात्रा स्वारजीको ।’
यसैबीच, जनमत पार्टीको बलरा नगर कमिटीको सपथ ग्रहण तथा प्रथम वैठक सम्पन्न भएको छ । नगर कमिटिका अध्यक्ष हरिनन्दन यादवको अध्यक्षता, केन्द्रीय सदस्य राकेश मिश्राको प्रमुख आतिथ्यता तथा जिल्ला ईन्चार्ज श्रीचन यादव(सुजन)को विशिष्ट आतिथ्यतामा भएको सपथ ग्रहण तथा प्रथम वैठक कार्यक्रममा जनमत पार्टीका एक हजार बढी कार्यकर्ताहरुको उपस्थिति रहेको जनमत पार्टीले जनाएको छ ।

सो अवसरमा अन्य पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई प्रमुख अतिथी मिश्रा तथा विशिष्ट अतिथी यादवसहितका नेताहरुले अविर टिका लगाई जनमत पार्टीमा स्वागत गर्नुभएको थियो ।