अग्नि पीडितलाई तत्काल राहत उपलब्ध गराउन जनमत पार्टीको माग

Byviralpost

२१ बैशाख २०८१, शुक्रबार २०:४६ २१ बैशाख २०८१, शुक्रबार २०:४६ २१ बैशाख २०८१, शुक्रबार २०:४६

सोम दियाली, लालबन्दी
वैशाख २१ गते । जिल्लामा पछिल्लो समय आगलागिका घटना वृद्धि भइरहेको छ । पछिल्लो पटक आगलागिका घटना बढ्न थालेपछि यो सर्वत्र चिन्ता र चासोको विषय बनेको छ । विहिबार सर्लाहीको विष्णु गाउँपालिका १ बारा उद्योरणमा आगलागि हुँदा ६५ घर जलेर नष्ट भएपछि यतिबेला सबैको ध्यान त्यसैतर्फ मोडिएको छ ।


यसैक्रममा जनमत पार्टी सर्लाहीले आगलागि पीडितलाई राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपत् व्यवस्थापन समितिलाई आग्रह गरेको छ । शुक्रबार आगलागि भएको स्थानको स्थलगत अनुगमन पछि जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन यादव(सुजन)ले एक प्रेस विज्ञप्ती जारी गर्दै आगलागि पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्नुभएको हो ।
प्रेस विज्ञप्तीमा भनिएको छ, ‘बारा उद्योरणमा भएको आगलागिको घटनाले हामी अत्यन्तै दुःखित भएका छौं । आगलागिबाट घर गुमाएकाहरुप्रति हामी सहानुभूति प्रकट गर्दछौं । आगलागिबाट ६५ घर सबै जलेर खरानी भएको छ । पीडितहरु सबै विपन्न वर्गका छन् । घरसहित अन्नपात, लत्ताकपडा सबै जलेर खरानी भएपछि उनीहरु अहिले विचल्ली परेका छन् ।

विशेषगरी साना साना बालबालिका, सुत्केरी महिला, विरामी तथा वृद्धवृद्धाहरुको अवस्था साच्चै नै नाजुक छ र कष्टकर जीवन विताउन बाध्य भएका छन् । वास बस्ने घर नै जलेर नष्ट भएपछि उनीहरुको अहिले भूकम्प पीडितको भन्दा कम छैन । तसर्थ उनीहरुलाई तत्काल गाँस र वासको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौं ।’
उहाँले विज्ञप्ती मार्फत् आगलागि पीडितलाई पक्की आवाशको व्यवस्था गर्न समेत जोडदार माग गर्नुभएको छ ।