भाइरल पोष्ट, मलंगवा
चैत्र १९ गते । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पाठ्यपुस्तक तथा पाठ्यासामाग्री मात्रै प्रयोग गर्न पाठ्याक्रम विकास केन्द्रले गरेको परिपत्रलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न एक स्टेशनरी तथा पुस्तक व्यवसायीले आग्रह गरेका छन् ।
जिल्लाको मलंगवामा पत्रकारहरुसँग कुरा गर्दै पब्लिक मावि मलंगवाका पूर्व शिक्षक समेत रहेका सरस्वती पुस्तक पसलका सञ्चलक दयाकान्त मिश्रले आगामी शैक्षिक सत्रदेखि सबै(निजी तथा सामाुदायिक) विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पाठ्यपुस्तक मात्रै प्रयोग गर्नुपर्ने बताए । उनले कमिसन र अन्य प्रलोभनमा परि जुनसुकै प्रकाशनका र पुराना पाठ्यपुस्तकहरु विगतमा पनि प्रयोग गर्ने गरेको भेटिएकोले आगामी शैक्षिक सत्रबाट भने त्यस्तो नगर्न सबै सरोकारवालाहरुलाई आग्रह गरे ।
‘पाठ्यपुस्तक भनेको बाटो हो । विद्यार्थीलाई सही बाटोमा लैजाँदा मात्रै उनीहरुको भविष्य उज्जल हुन्छ । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पाठ्यपुस्तकले मात्रै सबै विद्यालयको पठनपाठनमा एकरुपता आउँछ । त्यसैले स्वीकृत पाठ्यपुस्तक बाहेक जथाभावी र जुनसुकै प्रकाशनका पाठ्यपुस्तकको प्रयोग गरी शिक्षामा विकृति ल्याउने काम कसैले नगरौं ।’, उनले भने,‘पाठ्यक्रम विकास केन्द्रको परिपत्रलाई समेत व्यवास्ता गर्दैै गत विगतमा पनि स्वीकृत नगरिएका पाठ्यपुस्तकहरु प्रयोग भएको पाईयो । त्यसैले आगामी शैक्षिक सत्रदेखि त्यस्तो नगर्न र पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेकै पाठ्यपुस्तक प्रयोग गर्न सबैलाई आग्रह गर्दछु ।’
पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०८१ देखि शैक्षिक सत्र २०८३ सम्म केन्द्रले स्वीकृत गरेको पाठ्यपुस्तक तथा पाठ्यसामाग्री मात्रै प्रयोग गर्न/गराउन यसअघि नै सबै जिल्लाका शिक्षा विकास समन्वय ईकाई तथा सबै स्थानीय तहहरुलाई परिपत्र गरि सकेको छ ।