भाइरल पोष्ट, चितवन
चैत्र १७ गते । आम जनता पार्टी (आजपा)को चितवन जिल्ला भेला आज सम्पन्न भएको छ । सम्पन्न जिल्ला भेलाबाट तुलबहादुर थापा मगरको अध्यक्षतामा ५१ सदस्यीय चितवन जिल्ला कमिटी गठन भएको छ ।
उधोग वाणिज्य संघ नारायणगढको सभा हलमा सम्पन्न भेलाबाट उपाध्यक्षद्धयमा रामायण साह र राजजी विक, सचिवमा श्याम पटेल, सहसचिवमा निराजन साह र कोषाध्यक्षमा कौशिला बराल सहित सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा भएको छ । चितवन जिल्लाको आजपा इन्चार्ज मिनबहादुर खत्री रहेका छन् ।
यसैगरी सोही भेलाबाट आजपा निकटको बिभिन्न जनवर्गीय संगठनहरु समेत गठन भएको छ । आम महिला मोर्चाको चितवन जिल्ला कमिटीको अध्यक्षमा अस्मिता ठकुरी, सचिवमा पबित्रा ठकुरी लगायतका रहेका छन् । यस्तै आईटी आर्मी चितवन जिल्ला कमिटीको अध्यक्षमा विक्रम गुरुङ, सचिवमा निकाश मगर, कोषाध्यक्षमा श्रीराम सेढाई सहित ५१ सदस्यीय रहेका छन् ।
यस्तै आम विद्यार्थी मोर्चा चितवन जिल्ला कमिटीको अध्यक्षमा संदिप कुशवाहा, आम किसान मोर्चाको जिल्ला अध्यक्षमा रंजित मगर, आम सुकुम्बासी मोर्चाको जिल्ला अध्यक्षमा लालबहादुरको नेतृत्वमा कमिटीहरु गठन भएको छ ।
भेलाले आजपाद्धारा चैत २४ गते काठमाडौं गर्ने जनप्रर्दशमा भब्य जनसहभागीता गराउने निर्णय गरेको छ । देशमा बढदो भ्रष्टाचार एवं लुटकारी दलतन्त्रको बिरुद्धमा आजपाले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्दैछ । सो जनप्रदर्शनमा चितवनबाट व्यापक सहभागिता हुने बताइएको छ ।
आजपा चितवन जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्ष तुलबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न सो भेलामा आजपाका वरिष्ठ उपाध्यक्षमा उपेन्द्र साह, उपाध्यक्ष अरुण घिसिङ, सचिव उमेश कुशवाहा लगायतको सहभागिता रहेको थियो ।
यसैबीच, बिभिन्न पार्टीमा आबद्ध पुराना कम्युनिष्ट नेताहरुले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
आजपाको काठमाडौं स्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन् ।
पुरानो वामपन्थी नेता भाईकाजी सापकोटा, गुरू बालकृष्ण अचार्य, युवा नेता राहुल बुढामगर, भरत श्रेष्ठ, लक्ष्मी दाहाल सहित दर्जनौं अगुवा नेताहरु विभिन्न पार्टी परित्याग गरी विधिवत रुपमा आजपामा प्रवेश गरेका हुन् ।
देशमा विद्यमान सबैखाले बेथीति, भ्रष्टाचार र वर्तमान संकट समाधान गर्दै मुलुकलाई अग्रगमनको दिशामा अगाडि बढाउने संकल्प सहित आजपामा दिनानुदिन प्रवेशको लहर बढ्दै गएको छ ।
यसैबीच आजै आजपा निकटको आम जनजाती महासंघको केन्द्रीय समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । भक्तपुरको सूर्यबिनायक स्थित शुभकामना पार्टी प्यालेसमा सम्पन्न महासंघको बैठकले पहिचान र अधिकारको मुद्धालाई जोडदार ढंगले उठाउँने निर्णय गरेको छ ।
आजपा अध्यक्ष प्रभु साहको प्रमुख आथित्यमा महासंघको बैठकले पहिचान र अधिकारका लागि चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ । जनआन्दोलन दिवसको अवसरमा भ्रष्टाचार एवं लुटकारी ब्यवस्थाको बिरुद्धमा आजपाद्धारा चैत्र २४ गते काठमाण्डौंमा हुने जनप्रदर्शनलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत बैठकले व्यक्त गरेको छ ।