भाइरल पोष्ट, हरिवन
चैत्र १६ गते । सम्मानित हुन कुनै ठुलो काम गर्नु पर्दैन केवल राम्रो काम गरे पुग्छ । यही भनाई सर्लाहीको हरिवन नगरपालिकाका स्वास्थ्यकर्मीहरुमा चरितार्थ भएको छ । यहाँका स्वास्थ्यकर्मीहरुले कुनै ठुलो काम गरेनन् तर राम्रो काम भने गरेरै देखाएपछि सम्मानको भागिदार भएका छन् ।

कोरोनाकाल र त्यसभन्दा अगाडिदेखि नै हरिवनका स्वास्थ्यकर्मीहरुले नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल सावित गराएका थिए । फलस्वरुप हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशमै पहिलो भयो । मधेशकै उत्कृष्ट भएपछि नगरपालिकाले सम्मान पनि पायो ।
अहिले फेरि हरिवन नगरपालिका क्षयरोग नियन्त्रण अभियानमा पनि देशभरीमै पहिलो भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मूल्यांकनमा हरिवन नगरपालिका उत्कृष्ट सावित भएपछि विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव रोशन पोखरेलले नगरपालिकालाई सम्मान पत्रसहित सम्मान ग¥यो । त्यसले यहाँका स्वास्थ्यकर्मीहरुमा ठुलो उत्साह जगायो ।

स्वास्थ्यकर्मीहरुको निरन्तरको मेहनत र लगनशीलतालाई थप ऊर्जा प्रदान गर्न नगरपालिकाले पनि उनीहरुलाई सम्मान गरेको छ । शुक्रबार भएको विशेष नगरसभाको अवसर पारेर नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीसहितका स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाले अविर, मालासहित सम्मान पत्रबाट सम्मान गरेको हो ।
यो सम्मानले स्वास्थ्य क्षेत्रमा थप काम गर्ने जिम्मेवारी बोध हुनुका साथै काम गर्ने ऊर्जा मिलेको स्वास्थ्य शाखाका संयोजक चौधरीले बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा सुधारसहित थप प्रगतिहरु हासिल हुनुमा स्वास्थ्यकर्मीको अथक मेहनतसँगै जनप्रतिनिधिको समन्वयकारी भूमिका तथा साथ सहयोग नै महत्वपूर्ण भएको बताउनुभयो ।