सोम दियाली, लालबन्दी
चैत्र १६ गते । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले देशमा अब स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवाद लागू गर्नुपर्ने बताउनु भएको छ ।
शुक्रबार विहान सर्लाहीको लालबन्दीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता महतोले आयातितवादले देश नबन्ने र देश बनाउनका लागि आफ्नैवाद अर्थात स्वदेशवाद लागू गर्नुपर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो,‘अहिले देशको शासन अप्राकृतिक ढंगले चलिरहेको छ । प्राकृतिक विचारलाई त्याग गरिएको छ । स्वदेशवादलाई अवलम्बन गरिएको छैन । त्यसैले पनि देशको विकास हुन सकेको छैन । देशमा देखि रहनु भएको छ नि अहिले जे भईरहेछ त्यो सब अप्राकृतिक एकल जातीय चिन्तकयुक्त शासनव्यवस्थाको उपजले गर्दा भएको हो ।’
उहाँले पृथ्वीनारायण शाहले एकिकरण गर्नुपूर्व यहाँ विभिन्न राज्यहरु रहेको र नेपाल एकिकरण भएपश्चात ती जाती र राज्यहरुको पहिचान मेटाउने काम भएको बताउनुभयो । उहाँले बहुलता भएको समाजलाई एकल जातीय ढंगले शासन गर्नु प्राकृतिक नभएको बताउनुभयो । उहाँले प्राकृतिक हुनका लागि सबै जातजातीको पहिचानलाई मेटाउन नहुने बताउनुभयो ।
उहाँले संघीय लोकतान्त्रिक व्यवस्था नै दुनियाँमा सबैभन्दा उत्कृष्ट व्यवस्था भएपनि नेपालमा यो व्यवस्था बाहिर राम्रो देखिए पनि भित्र भने बडा दुषित र खराब रहेको बताउनुभयो । उहाँले विविध जातजातीले भरिएको देश, विविध भाषा धर्म र संस्कृतिले भरिएको देशमा एकल जातीय शासन व्यवस्था लागू हुन दुःखद भएको भन्नुहुँदै आफूहरुले राष्ट्रिय मुक्ति क्रान्ति अभियान शुरु गरेको र यो क्रान्तिले देशमा बहुलराष्ट्रवाद स्थापना गराएरै छोड्ने बताउनुभयो ।
गएको ७० वर्ष यता नेपालले सात ओटा संविधान बनाई सकेको र दुनियाँमा धेरै संविधान बनाउने देश नै नेपाल भएपनि ती संविधान अवैज्ञानिक र एकल जातीय चिन्तन र सोच राखेर संविधान बनाइएकोले प्रत्येक दश वर्षमा संघर्ष गर्नुपर्ने स्थितिमा पुगेको बताउनुभयो ।
दुनियाँलाई देखाउन राम्रो शासन र संविधान भनेपनि यो अहिलेको एकल जातीय शासन व्यवस्थाले सबै जातजाती, भाषाभाषा र भूगोलमा बस्नेहरुको अधिकार स्थापित नगर्ने आफूहरुको ठहर रहेकोले आफ्नैवाद अर्थात् स्वदेशवाद ल्याउन लागी परेको उहाँले बताउनुभयो ।
उहाँले नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा शुभकामना पनि दिनुभयो । उहाँले देश बिगार्ने कि सपार्ने भन्ने कुरा पत्रकारकै हातमा हुने भएकोले देश बर्वादीतर्फ गई सकेकोले जोगाउनेतर्फ लाग्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले आफूहरुले बोल्दा राजनीतिक आग्रह पूर्वाग्रह भन्ने जस्ता प्रतिक्रिया आउने गरेको भन्दै पत्रकारले लेखेको कुरा निष्पक्ष हुने पनि दाबी गर्नुभयो ।
त्यस्तै उहाँले बहुलराष्ट्रवादले देश टुक्राउछ भन्ने भ्रम चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘बहुलराष्ट्रवादले देश टुक्रिने होईन झन् बलियो हुन्छ । बहुल जाती, भाषा, धर्म र संस्कृतिले भरिएको देशको शासनसत्ता सबै जातजातीले गर्न पाउनुपर्छ भन्ने नै बहुलराष्ट्रवाद हो । त्यसैले यो वादले देश टुक्रिन्छ भन्ने भ्रम आजैबाट हटाईदिनुहोस् ।’
त्यस्तै पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका प्रणेता बुद्धछिरिङ मोक्तानले कम्युनिष्टहरुले भनेको वैज्ञानिक समाजवादभन्दा स्वदेशवाद उच्च तहको वाद भएको बताउनुभयो । उहाँले आफ्नै समुदायमा आधारित स्वदेशिय अर्थतन्त्रमा आधारित समाजवादको विकास गर्नुपर्छ भनेर आफूहरु लागेको बताउनुभयो ।
उहाँले शक्ति केन्द्रीकरण गर्ने युरेपियन मोडेलको शासन व्यवस्थाले राज्य र जनतालाई अलग्याएको भन्नुहुँदै जनता र राज्यलाई जोड्ने भनेकै बहुलराष्ट्रिय राज्य प्रणाली भएकोले आफूहरुले बहुलराष्ट्रवादलाई समेत स्वीकार गरेर अघि बढेको बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयरका प्रत्यासी सुमन शायमी, मुक्ति क्रान्ति अभियानकी नेतृ कमला गुरुङ्ग, अभियन्ता राजीव झा, रविन्द्र कुमार श्रेष्ठ, जिग्मेला बोम्जन, जीवन घलानलगायतको सहभागिता रहेको थियो ।