भाइरल पोष्ट, लालबन्दी
चैत १५ गते । बहुलराष्ट्रिय राज्य नेपालको स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गत वृहद सम्वादात्मक कार्यक्रम लालबन्दीमा सम्पन्न भएको छ ।
स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवाद भन्ने मूल नारासहित लालबन्दी नगरपालिका १० स्थित सामुदायिक भवनको सभाहलमा सम्वादात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको कार्यक्रमका सञ्चालक राजु लो तामाङले जानकारी दिनुभयो ।

राष्ट्रिय मुक्ति क्रान्ति अभियानको चुरेभावर विशेष व्यूरोको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता अभियन्ता जीवन घलानले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथी प्रमुख प्रशिक्षक समेत रहनुभएका राष्ट्रिय मुक्ति क्रान्तिका प्रणेता बुद्धछिरिङ मोक्तान हुनुहुन्थ्यो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियान के हो ? स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको आवश्यकता किन भएको हो ? भन्ने विषयमा सबैले जान्नु आवश्यक भएकोले सम्वादात्मक कार्यक्रमको आयोजना गरिएको अभियानका अभियन्ता जिग्मेला बोम्जनले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रका क्रममा मुक्ति क्रान्तिका अभियन्ता राजीव झा, निरुता मोक्तान लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा जिल्लाको विभिन्न स्थानबाट ५०० बढीले सहभागिता जनाएका थिए ।
उद्घाटन सत्रको समापन पश्चात अभियन्ताहरु खोजराज गोले र राष्ट्रिय मुक्ति क्रान्तिका प्रणेता बुद्धछिरिङ मोक्तानले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
अभियान अन्तर्गत भोलि जिल्ला सदरमुकाम मलंगवामा शक्ति प्रदर्शन गरिने कार्यक्रम रहेको समेत कार्यक्रमका क्रममा जानकारी दिइएको थियो ।