सोम दियाली, हरिवन
चैत्र १४ गते । सासापुर स्वास्थ्य चौकी(प्रस्तावित हरिवन नगर अस्पताल) मा सुत्केरी भएका महिलाहरुलाई संस्थागत सुत्केरी प्रोत्साहन भत्ता वितरण गरिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ सुरु भएयता स्वास्थ्य चौकीमा नियमित जाँच गराई तोकिएको मापदण्ड पूरा गरी स्वास्थ्य संस्थामै सुत्केरी भएकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरिएको स्वास्थ्य चौकीका इन्चार्ज मोहन बहादुर घिसिङ्गले बताउनुभयो ।

उहाँका अनुसार अहिले सम्म मापदण्ड पूरा भई आवश्यक कागजात पेश गरेका एक सय ३९ जनालाई प्रोत्साहन भत्ता स्वरुप जनही नगद चार हजारका दरले वितरण गरिएको हो ।
स्वास्थ्य चौकी व्यवस्थापन समिति संयोजक एवम् हरिवन ४ का वडाअध्यक्ष केशवराज थापा(बाबु)को अध्यक्षता तथा हरिवन नगरपालिकाका प्रमुख कमल रमेश बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी प्रोत्साहन भत्ता वितरण गरिएको थियो ।
नगरपालिकाको स्वास्थ्य तथा मानव विकास शाखाको आयोजनामा भएको कार्यक्रममा नगर उपप्रमुख हरिमाया घलान, वडा नम्बर २ का वडाअध्यक्ष अर्जुन योन्जन, ३ का वडाअध्यक्ष दिपमान लोप्चन, नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीलगायतको आतिथ्यता रहेको थियो ।
प्रोत्साहन भत्ता वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख बुढाथोकीले आफू निर्वाचित भएलगतै सुत्केरी प्रोत्साहन भत्ता दिने निर्णय गरे अनुरुप नै भत्ता वितरण गरिएको बताउनुभयो । उहाँले यसरी प्रदान गरिएको भत्ताबाट आमा र शिशुको पोषणमा टेवा पुग्ने र आमा र बच्चा दुबै स्वस्थ हुन मदत पुग्ने बताउनुभयो । उहाँले स्वास्थ्यमा हरिवन नगरपालिका मधेश प्रदेशमै पहिलो भएको र टिबी रोग नियन्त्रण अभियानमा देशमै पहिलो पालिका भएकोले नगरका स्वास्थ्यकर्मीहरुको मेहनतबाट प्राप्त यो उपलब्धीलाई हरिवनवासीले गर्व गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता सराहनीय कार्यको अधिक प्रचार प्रसार गरिदिन संचारकर्मीहरुलाई समेत आग्रह गर्नुभयो ।
नगरका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले सासापुर स्वास्थ्य चौकीसहित नगरका अन्य स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई पनि प्रोत्साहन भत्ता वितरण गरिने बताउनुभयो । उहाँले नगरका विभिन्न वर्थिङ्ग सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई भत्ता प्राप्त गर्न तोकिएको मापदण्ड पूरा गरेपछि भत्ता दिने गरिएको बताउनुभयो ।
उहाँका अनुसार सुत्केरी भत्ता प्राप्त गर्न गर्भवती भएपछि जाँच गर्नुपर्ने ८ ओटा जाँच मध्ये कम्तिमा ४ पटक जाँच गरेको, एक सय ८० ओटा आईरन चक्की खाएको, एउटा जुकाको औषधी खाएको, टिडी खाेप ( टिटानसकाे सुई) लगायको हुनुपर्ने छ । त्यस्तै दुई ओटा मात्रै बच्चा हुनेले मात्रै यो भत्ता सुविधा पाउने पनि उहाँले बताउनुभयो ।
उहाँले यसवर्ष चैत्र महिनाको यो अवधिसम्म एक सय ६९ जना सुत्केरी भत्ता प्राप्त गर्न योग्य भएको बताउनुभयो ।