भाइरल पोष्ट, हरिवन
चैत्र १४ गते । दैनिक गरौं मह सेवन, हुन्छ स्वस्थ दीर्घ जीवन भन्ने नारासहित सर्लाहीमा १८औं राष्ट्रिय मह दिवस मनाइएको छ ।
हरेक वर्ष चैत्र १३ गतेलाई नेपालमा राष्ट्रिय मह दिवसको रुपमा मनाउने गरिएको छ । नेपाल मौरी मालक महासंघका अध्यक्ष डम्बरदेव पाण्डेको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा हरिवन ११ नम्बर वडा कार्यालयको सभाहलमा दिवस मनाइएको हो ।
कार्यक्रममा महासंघका पूर्व केन्द्रीय महासचिव हेमराज देवकोटा, पूर्व प्रदेश सांसद डिल्ली उप्रेती, महासंघका पूर्व केन्द्रीय अध्यक्ष कमल मैनाली, पूर्व केन्द्रीय सह–कोषाध्यक्ष विष्णु मैनाली, किसान नेता राजकुमार उप्रेती, नेकपा एमाले हरिवन नगर अध्यक्ष सिताराम पोखरेल, हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, नगर प्रमुख रमेश बुढाथोकी(कमल) लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै पूर्व केन्द्रीय महासचिव देवकोटाले मौरी किसान वास्तवमै मर्कामा परेको बताउनुभयो । उहाँले दुध किसानले दुध पोखेको जस्तो, तरकारी किसानले तरकारी, माछा किसानले माछा सडकमा पोखेको जस्तो मौरी किसानले पनि मौरी पोखेर आन्दोलन गर्नु पर्ने दिन आउन सक्ने भन्दै मौरी किसानका मर्का बुझिदिन सरकारसँग आग्रह गर्नुभयो ।
त्यस्तै प्रदेशसभा सदस्य डिल्ली उप्रेतीले अहिले नेपालमा सबैभन्दा बढी कृषि पेशा धरासायी भएको बताउनुभयो । उहाँले जुनसुकै कृषिमा लगानी गरेपनि डुब्ने भन्दा केही नभएको बताउनुभयो । उहाँले मौरी पालन व्यवसायलाई तीनै तहको सरकारले कार्यक्रमहरु ल्याएर बढाउनु पर्ने बताउनुभयो । उहाँले विदेशी महको अत्यधिक आयातले पनि नेपाली मह ओझेलमा परेकोले सरकारले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै कृषि प्रधान देशका किसान पेशा नै डुब्ने भएपछि कोही विदेश पलायन हुने स्थिति आएको, कसैले त आत्महत्या नै गर्ने स्थिति पुगेको भन्दै स्थानीय सरकारले केही न केही गर्न नसके अवस्था डामाडोल तर्फ जाने नेकपा एमाले हरिवनका अध्यक्ष सिताराम पोखरेलले बताउनुभयो । उहाँले गाउँ तथा नगरपालिका आफैमा एउटा सरकार भएकोले यिनीहरुले मौरी किसानलाई बचाउने मात्रै भएपनि तत्काल काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै मौरी पालक संघका पूर्व सह–कोषाध्यक्ष विष्णु मैनालीले जेष्ट नागरीकहरुलाई च्यावनप्रास नभई मह वितरण गरेर महको प्रवद्र्धन गर्न जनप्रतिनिधिसंग आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिहरुले जेष्ठ नागरीकहरुलाई डाबरको च्यावनप्रास वितरण गर्नुभन्दा स्थानीय किसानले उत्पादन गरेको मह वितरण गरे नेपाली र स्थानीय महको प्रवद्र्धन हुने बताउनुभयो ।
त्यस्तै किसान नेता राजकुमार उप्रेतीले कृषि प्रधान देश भन्ने तर बजेट भने न्यून विनियोजन गर्ने गरेको कारण मौरीसहितको कृषि पेशा फस्टाउन नसकेको बताउनुभयो । उहाँले कृषि व्यवसायको प्रवद्र्धन गर्न कुल बजेटको १० प्रतिशत बढी बजेट विनियोजन गर्नु पर्ने बताउनुभयो ।
त्यस्तै हरिवनकी उपमेयर हरिमाया घलानले मौरी पालन व्यवसायमा विशेष गरी महिलाहरुलाई जोड्न सक्दा राम्रो हुने भन्नुहुँदै आफूले यो पेशाको विकासका लागि नगरपालिकाको तर्फबाट केही न केही अवस्य गर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी हरिवन नगर प्रमुख रमेश बुढाथोकी (कमल)ले कमिसनमुखि बजेटले कुनै पनि क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो । उहाँले आफूले मौरी पालक किसानको विकासको लागि नगरपालिकाबाट शून्य कमिसनमा आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले मौरी किसानसहित लोप हुन लागेको कोदो, जुन्यालो, फापर जस्ता रैखाने अन्न उब्जाउन समेत किसानहरुलाई अनुदानको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न पालिकाहरुका मौरी किसानहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मौरी किसान रविराज कडरियाले गर्नुभएको थियो ।