भाइरल पोष्ट, लालबन्दी
चैत १४ गते । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य संघीय सांसद डा. डिला संग्रौलाले राजनीतिमा अस्थिरताको विजारोपण गरेर प्रचण्डले ठूलो गल्ती गरेको आरोप लगाएकी छन् ।
काँग्रेससँगको गठबन्धनको स्थायित्व र सुशासनको जगमा मात्र समृद्धिको यात्रा तय हुने भएकाले जनतासंग समुहिक प्रतिबद्धता गरिएको स्मरण गर्दै केन्द्रीय नेतृ संग्रौलाले एक वर्षको दौरानमा प्रधानमन्त्री प्रचण्डले तीनपटक विश्वासको मत लिनुपर्ने अवस्था किन आयो त भनि प्रश्न गरिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गठवन्धन तोडेर कांग्रेसलाई नभई जनतालाई धोका दिएको उनको भनाइ छ । उनले बेइमानीको राजनीति सुरु भएको बताइन् । प्रतिपक्षमा बस्नु परेर कांग्रेस छट्पटाएको भन्नु गलत रहेको उनको भनाइ छ ।
नेपाल प्रेस युनियन सर्लाही शाखाले मंगलवार साँझ लालबन्दीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य संग्रौलाले यस्तो बताएकी हुन । मुलुकको चावी लिएर गृहमन्त्री भएका नै सहकारी ठगीमा मुछिएकाले संसदीय छानविन समिति गठन गर्नुपर्ने र गृहमन्त्री रवी लामिछानेले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेसको बटमलाईन रहेको केन्द्रीय नेतृ संग्रौलाको भनाइ छ ।
नेपाल प्रेस युनियन सर्लाहीका सभापति कृष्ण प्रसाद थपलियाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र नं. १(ख)का सभापति सीताराम दाहाल, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, महासमिति सदस्य रामबाबु साह, नेपाली काँग्रेस सर्लाहीका सह–सचिव इन्द्र योन्जन, काँग्रेस नेता कुवेर आचार्य, प्रशान्त आचार्य, नारायण गुर्मछाने, तरुण दल केन्द्रीय सदस्य विभुसिंह थापालगायतको उपस्थिति रहेको थियो ।