राजु तामाङ, हेटौंडा
चैत १३ गते । बहुलराष्ट्रिय राज्य नेपालको स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गत हेटौंडामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
हेटौंडाको पल्पसा होटलको सभा हलमा तामाङ राष्ट्रिय वाहिनीको आयोजनामा योङ इन्डिजिनिष्ट लिगको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको प्रमुख प्रशिक्षक समेत रहेका राष्ट्रिय मुक्ति क्रान्तिका प्रणेता बुद्धछिरिङ मोक्तानले वर्तमान विश्व परिस्थितिलाई विद्वानहरुले ठूलो अनिश्चितता र भ्रमको युग भनेर भनिसकेको छ, जुन प्रत्येक मानिस बीचमा ठूलो अविश्वास र शंका उत्पन्न गराउँदै नेपाली आकाशमा पनि मडारिरहेको छ । यस्तो विषम परिस्थितिमा जन्मेको स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको जगमा टेकेर नयाँ राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यक भएको भन्दै अब पूर्वीय सभ्यतामा आधारित रहेको स्वदेशीय दर्शन मार्फत स्वदेशवादको पुनः स्थापना जरुरी भैसकेको कुरालाई जोड दिनु भयो ।
आफ्नो गुमेका संस्कृति, पहिचान र भुगोलका निम्ति अब ज्ञान सत्ताको विकास गर्दै राज्य सत्ता बनाउँनु तर्फ एक पटक सिङ्गो उत्पीडनमा परेका र पारिएका सबै एकजुट भै अभियानमा जोडिनका लागि आग्रह समेत गर्नु भयो । हाल अभियान अन्तर्गत देश भरि नै विभिन्न ठाउँहरुमा प्रशिक्षणात्मक कार्यक्रमहरु संचालन भैरहेको छ । अभियान अन्तर्गत पर्सि १५ गते सर्लाहीको लालबन्दीमा प्रशिक्षण कार्यक्रम हुने अभियन्ता जिग्मेला बोम्जनले जानकारी दिएको छ ।
त्यस्तै प्रदेशको नाम बागमती खारेजी तथा बहुलराष्ट्रिय राज्य नपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गत हेटौंडाको बुद्ध चौकमा चैत २१ गते दिउँसो १ बजे बृहत जनप्रदर्शन कार्यक्रम हुने आयोजकले जनाएको छ ।