सोम दियाली, हरिवन
चैत्र १२ गते । ‘हो, हामी अन्त्य गर्छौ’ ‘थ्भक धभ अबल भलम त्द्य’ भन्ने मूल नाराका साथ सर्लाहीको हरिवनमा विश्व क्षयरोग दिवस सचेतनामूलक सडक नाटक प्रदर्शन गर्दै मनाइएको छ ।
हरिवन नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा हरिवन ११ स्थित सगुन बैंक अगाडिको चौतारामा आयोजना गरिएको सचेतामूलक कार्यक्रमको अध्यक्षता हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले गर्नुभएको थियो भने प्रमुख अतिथी नगर प्रमुख रमेश बुढाथोकी(कमल) रहनुभएको थियो ।
नियमित औषधी सेवन गरे टिबी रोग निको हुन्छ, नियमित औषधी खाऔं, टिबी रोग भगाऔं जस्ता नारा लगाउँदै सचेतनामूलक ¥यालीपछि आयोजित सभामा टिबी रोगको वर्तमान अवस्थाबारे संक्षिप्त जानकारी राख्दै नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सभालाई नगर प्रमुख बुढाथोकी, उपप्रमुख घलान र काँग्रेस नेता डोर प्रसाद भट्टराईले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर बुढाथोकीले सबैलाई उपचारको दायरामा ल्याउन सके सन २०३० सम्ममा नै हरिवनलाई टिबी फ्रि पालिका बनाउन सकिने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका अतिथी जिल्ला क्षयरोग निवारण केन्द्रका अध्यक्ष डोर प्रसाद भट्टराईले मानव विकासको सूचांकमा स्वास्थ्यको पनि महत्वपूर्ण स्थान रहनेभएकोले बाटोघाटोको विकासलाई मात्रै नभई स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रको विकासमा पनि जोड दिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले क्षयरोग निवारणको क्षेत्रमा हरिवन नगरपालिका उत्कृष्ट सावित भएकोमा बधाई समेत दिनुभयो ।
कार्यक्रममा महादेव जनता नमूना मावि हरिवनमा अध्ययनरत विद्यार्थीहरुले सचेतनामूलक नाटक प्रर्दशन गरेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाकी क्षयरोग अधिकृत रोशनी घतानीले गर्नुभएको थियो ।
विश्वमा सन् १८८२ मा टिबी रोग पत्ता लागेको थियो । यो रोग पत्ता लागेको एक सय वर्ष पछि सन् १९८२ देखि हरेक मार्च २४ का दिन विश्वभरी विविध सचेतनामूलक कार्यक्रम गरी क्षयरोग दिवस मनाउने गरिएको छ ।