सोम दियाली, सर्लाही
चैत्र ९ गते । सर्लाहीका माछा पालक किसानले सडकमा माछा फालेर सरकारको विरोध गरेका छन् ।
माछा पालन व्यवसायलाई उद्योगमा गाभेर विद्युत महसुल वृद्धि गरिएपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले सरकारले माछा पालन व्यवसायलाई धरापमा पारेको आरोप लगाउँदै पुर्वपश्चिम राजमार्गको फुलजोर चोकमा माछा फालेर सरकार विरुद्ध नाराबाजी गर्दै पौने एक घण्टा राजमार्ग अवरोध समेत गरेका थिए ।

उनीहरुले सरकारले माछा पालक किसानको मागलाई वेवास्ता गरेपछि आफूहरु आन्दोलन गर्न बाध्य भएको बताएका छन् । संघर्ष समितिका संयोजक एवम् विद्यार्थी नेता रञ्जित सहनीले आफूहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएपछि आन्दोलनमा उत्रनु परेको बताए । उनले माछा पालक किसानको समस्या लिएर मन्त्रालयसहित विद्युत प्राधिकरणमा समेत आफूहरु पुगेको भएपनि आफूहरुको माग सम्बोधन नभएको बताए ।
माछा पालक किसानको माग जायज भएको यहाँका राजनीतिक दलका नेताहरुले बताएका छन् । पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले माछा पालक किसानको माग जायज भएकोले जसरी पनि पूरा हुने बताए । उनले आफू पनि किसानकै पक्षमा भएको भन्दै किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाए ।
त्यस्तै पुर्व सांसद प्रमोद साहले पनि किसानको माग सम्बोधन गराउन पुनः काठमाण्डौं जाने सहमति भएको बताए । उनले माछा पालक किसानको समस्या सरकारले जसरी पनि सम्बोधन गर्नु पर्ने बताए ।
त्यस्तै किसानका नेता शुशिल कुमार थपलियाले माछा पालक किसानलाई बलीको बोको बनाउने काम भएको बताउनुभयो । उहाँले पोखरीमा अनुदान दिएर यता विद्युत महसुलबाट किसानलाई मार पारेर सरकारले किसानलाई झुक्याएको उनको ठहर छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता लुमडी प्रसाद धिमाल(लोचन)ले सरकारले माछा पालक किसानलाई पोखरीमा केही अनुदान दिएको भएपनि अहिले विद्युत महसुलमा ढाड सेकेको बताए । उनले किसानको समस्या जनयुद्धका कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएकै बेला सम्बोधन हुने विश्वास समेत व्यक्त गरे ।
उनीहरुको आन्दोलनमा ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्य, पूर्व मेयर मनोज देवकोटा, नेपाली काँग्रेसका महासमिति सदस्य प्रमोद बराल, माओवादी नेता लोकेन्द्र मुखिया लगायतको सहभागिता रहेको थियो ।
सर्लाहीमा एक हजार दुई सय बढी पोखरी रहेका छन् । यहाँ बार्षिक दुई हजार दुई सय मेट्रिक टन माछा उत्पादन हुने गरेको तथ्यांक छ ।