भाइरल पोष्ट, लालबन्दी
चैत्र ८ गते । सर्लाहीको लालबन्दीमा महिलाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिकाका सबै(१७) ओटै वडाका दलित तथा महिला वडासदस्य र महिला कार्यपालिका सदस्यहरुलाई लक्षित गरी चैत्र ४ गतेबाट शुरु भएको तालिम बिहीबार(आज) सहभागिहरुलाई पमाण पत्र प्रदान गर्दै समापन गरिएको हो ।

दलित र महिला वडासदस्य तथा कार्यपालिका सदस्यहरुलाई बोल्न र आफ्ना कुराहरु व्यक्त गर्न सक्षम बनाउने उदेश्यले लालबन्दी नगरपालिकाको लैंगिक विकास तथा समाज कल्याण शाखाले तालिमको आयोजना गरेको थियो ।
तालिममा सहभागिहरुलाई पत्रकार सोम दियाली तथा मनोज बखे्रलले सार्वजनिक कार्यक्रमहरुमा कसरी बोल्ने, विभिन्न सभा, भेला, छलफल तथा बैठकहरुमा आफ्ना कुराहरु कसरी व्यक्त गर्ने, मञ्चहरुमा बोल्दा के के कुरामा ध्यान दिने भन्ने लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो भने अधिवक्ता लोकहरी बरालले दलित र महिला वडा सदस्यहरुको काम कर्तव्य र अधिकारहरुबारे प्रशिक्षण दिनुभएको थियो ।

लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना माया पाख्रिनको अध्यक्षता तथा मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गर्दै समापन भएको कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले सहभागिहरुलाई आफूले सिकेको कुरा व्यवहारमा लागू गर्न भन्दै शुभकामना दिनुभएको थियो ।
समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तराज न्यौपाने, प्रशिक्षकहरु मनोज बख्रेल, लोकहरी बराल, लैंगिक विकास तथा समाज कल्याण शाखाकी प्रमुख डाक कुमारी फुयाँल, शाखाकै दुर्गा आचार्य खरेलको आतिथ्यता रहेको थियो ।
कार्यक्रम ६ नम्बर वडा कार्यालयको सभाहलमा सञ्चालन भएको थियो ।