भाइरल पोष्ट, लालबन्दी
चैत्र ८ गते । सर्लाहीको लालबन्दीमा बाल विवाह न्यूनिकरण सम्बन्धी समन्वयात्मक वैठक सम्पन्न भएको छ ।
तराइ तथा मधेशमा बढी मात्रामा हुने गरेको बाल तथा जवर्जस्ती विवाह न्यूनीकरण गर्दै शुन्यमा पुर्याउने लक्ष्यसहित ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा संचालित “बाल बिवाह न्यूनिकरण’’ सम्बन्धी CEFM परियोजनाले लालबन्दी ९ स्थित होटल युनाईटेड ईन मा समन्वयात्मक बैठक सम्पन्न गरेको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा संचालनमा रहेको परियोजनाले बाल विवाह तथा कम उमेरमा हुने विवाह र जर्बजस्ती हुने विवाहलाई न्यूनिकरण गर्न रणनैतिक लक्ष्यका साथ काम अगाडि बढाएको परियोजनाले बाल विवाह न्यूनिकरणको लागि सर्लाहीका हरिपुर, ईश्वरपुर र जिल्ला स्तरका संघ संस्थाहरुसँग साझेदारी गरी काम गर्ने परियोजनाको ढाँचा अनुरुप स्थानीय संघसंस्थालाई आशय पत्रको आव्हान समेत प्रकाशन गरेको छ ।
बैठकमा बाल विवाह कुनै पनि व्यक्ति बिशेषको समस्या नभई सार्वजनिक सवालको विषय भएकोले सबै सरोकारवालाले यो विषयमा सचेतना अभियान सञ्चालन गर्नु पर्ने संस्थाका सचिब तथा समन्वय बैठकको अध्यक्षता समेत गर्नु भएका सूर्य प्रसाद चालिसेले बताउनुभयो ।
देशको बाल विवाहको अबस्था र मधेश प्रदेशमा बाल विवाहको तथ्याङ्क साथै बाल विवाह अन्त्यका लागि वर्तमान कानूनी प्रावधानहरुको बारेमा CEFM परियोजनाका परियोजना संयोजक सिर्जना बस्नेतले तथ्याङ्कमा आधारित विषय बस्तुसहित बैठकको सहजीकरण गर्नु भएको थियो ।
समुदायमा आधारित संस्थाहरुसँग परियोजनाले साझेदारीगरि काम गर्न प्रकाशित आशय पत्रको ढाँचा र आशयपत्रमा समावेश हुनुपर्ने न्यूनतम् विषयहरुको सहजीकरणका लागि आयोजना गरिएको बैठक कार्यक्रममा सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत शान्तिराम भण्डारीले आवश्यक न्यूनतम मापदण्ड र आशयपत्रका विषयमा सहजीकरण गर्नुभएको थियो भने उक्त कार्यक्रममा हरिपुर, ईश्वरपुर र लालबन्दी नगरपालिकामा क्रियाशिल गैरसरकारी संस्थाका प्रमुखहरु, जनज्योति बहुमुखि क्याम्पस लालबन्दी, नारायण माबि हरिपुर, युवा क्लबहरु र अन्य सरोकारवाला निकायहरु गरी ४१ जनाको सहभागीता रहेको थियो ।
सहभागी अधिकांस संघसंस्थाहरुले कार्यक्रमको औचित्य र आवश्यकताका बारेमा जानकार रहेको र साझेदारीमा सहयोग गर्न तत्पर रहेको बताएका छन् ।
यो कार्यक्रम एक पक्षको नभई सम्पूर्ण समाजको अभियान भएकोमा आयोजकले जोड दिएको छ । कार्यक्रम लालबन्दी – ९ स्थित होटल युनाइटेड इन मा सम्पन्न भएको थियो ।