भाइरल पोष्ट, लालबन्दी
चैत्र ७ गते, सर्लाहीमा पत्रकारको नाममा असुली धन्दा मचाएका कमला टाईम्सका पत्रकार एसपी गौरब भनिने शंकर पहाडी ठगी आरोपमा पक्राउ परेका छन् ।
सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं.१० घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका ६ बस्ने अन्दाजी ३२ वर्षीय पहाडीले बा. २७ प २९५२ नम्बरको मोटरसाईकल ५० हजारमा बिक्री गरी ठगी गरेको आरोपमा प्रहरीले लालबन्दी बजारबाट पक्राउ गरेको हो ।
पहाडीले आफूले प्रयोग गर्दै आईरहेको मोटरसाईकल ५० हजारमा विक्री गरेका थिए । मोटरसाईकलको सवारी दर्ता किताव १ हप्ता पछि ल्याई सम्बन्धित निकायबाट नामसारी गरीदिने भनेर एक हप्ता वितिसक्दा पनि दर्ता किताव सम्बन्धित व्यक्तिलाई नदिए पछि जाहेरीको आधारमा पहाडी पक्राउ परेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीका अनुसार पहाडीले विक्री गरेको मोटरसाईकल उनको नाममा पहाडीको नाममा दर्ता समेत नरहेको पाइएको छ ।
पहाडीले झुक्याएर मोटरसाईकल ५० हजार रुपैयाँमा विक्री गरी ठगी गरेको भनी प्राप्त जाहेरीको आधारमा सर्लाही जिल्ला अदालतको मिति २०८०।१२।०५ गतेको प्राप्त पक्राउ पुर्जीका आधारमा उनलाई प्रहरीले आज लालबन्दी नगरपालिका वडा नं.६ लालबन्दी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पजियार थारुले जानकारी दिनुुभयो । उहाँका अनुसार पहाडीमाथि थप अनुसन्धान अघि बढाई सकिएको छ ।
राष्ट्रिय समाचार समिति(रासस) र सगरमाथा टेलिभिजनको सर्लाही सम्वाददाता समेत हुँ भन्ने पहाडीले यस अघि पनि जिल्लामा पत्रकारको नाममा आंतक मचाएको समाचारहरु बाहिर आएका थिए । उनले कहिले शसस्त्र प्रहरीको डिआईजीको बडीगार्ड त कहिले ठुलो पत्रकारको नामबाट सर्लाहीका विभिन्न सिमा नाकामा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न समान भित्राउने व्यापारीहरुसँग रकम असुली गर्ने गरेको समाचारहरु आएका थिए ।
उनी माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष थिए । उनले असुली धन्दा चलाएर संगठनको बद्नाम गरेको भन्दै प्रेस सेन्टरले उनलाई जिल्ला अध्यक्षबाट समेत हटाए पनि उनले अहिले पनि आफू नै प्रेस संगठनको जिल्ला अध्यक्ष दाबी गर्दै आइरहेका थिए ।
मुलकी अपराध संहिता २०७४ का अनुसार ठग्गी, अपराधिक विश्वास घात तथा अपराधिक लाभ कसुरमा अधिकतमा ७ वर्ष सम्म कैद र ७० हजार जरिवाना हुने प्रवधान छ । यसअघि पनि पहाडीले जिल्लामा असुली धन्दा मच्चाएको भनेर समाचारहरु आउँदा र स्थानीयले गुनासो गर्दा समेत प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । त्यतिका आरोपहरु लाग्दा पनि उनी खुलेआम आफ्नो धन्दामा लागि रहेका थिए । तर अहिले उनी ठगी आरोपमा पक्राउ परेका छन् । प्रहरीले उनीमाथि अन्य आरोपहरुमा पनि अनुसन्धान गरेर कार्वाही गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी छ ।