भाइरल पोष्ट, बलयवास
चैत्र २ गते । सर्लाहीको पुरानो बजार बयलवासमा पनि रेडियो सञ्चालनमा आउने पक्का भएको छ । निगरानी मिडिया नेटवर्कले ईश्वरपुर नगरपालिकाकै पहिलो रेडियोको रुपमा रेडियो निगरानी १०७ मेगाहर्ज सञ्चालनमा ल्याउने भएको हो ।
रेडियो सञ्चालनका लागि उक्त मिडियाले शुक्रबार नगरपालिका कार्यालयबाट ईजाजत पत्र समेत प्राप्त गरेको छ । ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले विहिबार रेडियो सञ्चालनको लागि निगरानी मिडिया नेटवर्कका सञ्चालक पत्रकार राकेश गुप्तालाई रेडियोको ईजाजत पत्र प्रदान गर्नुभएको थियो । उहाँले रेडियो निगरानीले ईश्वरपुरसहित जिल्लामै सूचना सम्प्रषणमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । जिल्लाको ठुलो र पुरानो बजार भएर पनि बयलवास बजारमा एउटा पनि रेडियो थिएन । निगरानी मिडिया नेटवर्कले यहाँ रेडियो सञ्चालन गरेर नगरवासीको चाहाना पुरा गर्न खोजेको भन्दै मेयर आचार्यले खुशि व्यक्त गर्नुभयो ।
रेडियो सञ्चालनको सम्पूर्ण तयारी गरिरहेको र सम्भवतः नयाँ वर्ष २०८१ सालको पहिलो दिन देखि नै रेडियोले परिक्षण प्रसारण सुभारम्भ गर्ने निगरानी मिडियो नेटवर्कका सञ्चालक राकेश गुप्ताले बताउनुभयो । उहाँले बयलवासमा एउटा रेडियो होस् भन्ने बलयवासवासीको चाहना अनुरुप नै आफूले रेडियो सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले रेडियो निगरानी सिङ्गो ईश्वरपुरवासीको रेडियो भएकोले रेडियो सञ्चालनमा सम्पूर्ण रुपले सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
रेडियोको लाईसेन्स हस्तान्तरण कार्यक्रममा उपमेयर रञ्जिता देवी, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, योजना अधिकृत पुस्कर घिमिरे, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष पत्रकार कृष्ण थपलिया, लोकप्रिया आवाज दैनिकका सम्पादक पत्रकार मुकेश झा, रेडियो बरहथवाका सञ्चालक पत्रकार घनश्याम सिंह लगायतको उपस्थिति रहेको थियो ।
हाल सर्लाहीमा ११ ओटा रेडियो सञ्चालनमा रहेका छन् । रेडियो निगरानी सञ्चालनमा आउनसाथ जिल्लामा बज्ने रेडियोको सख्या १२ हुनेछ । जिल्लामा डेढ दर्जन जति रेडियो दर्ता रहेको भए पनि केही रेडियोहरु भने बन्द भइसकेका छन् ।