भाइरल पोष्ट, हरिवन
चैत्र २ गते । सर्लाहीको हरिवन ९ दनुवारीको बाटो सम्बन्धी स्थानीय किसानबीच देखिएको पुरानो विवाद समाधानको नजिक नजिक पुगेको छ ।
द्वन्द रुपान्तरण प्रक्रिया अनुसार नै विवाद समाधानका लागि पक्ष तथा सरोकारवालाबीच निरन्तर बैठक तथा छलफल गराई रहेको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल अन्तरगतको माकुरा समूहले आज पनि साझा सवाल पारित गर्न बैठकको आयोजना गरेको हो ।
हरिवन ९ का वडा सदस्य ज्ञानलाल श्रेष्ठको अध्यक्षतामा दनुवारीस्थित उत्पन्नेश्वर महादेव मन्दिर परिसरमा आयोजित बैठकमा विवादको मुख्य समाधान गर्नु पर्ने विषय के हो भनेर तयार गरिएको साझा सवाल प्रस्तुत गरिएको थियो । विवाद समाधानका लागि विवादको मुख्य सवाल पहिचान हुनु पर्ने भएकोले पक्षहरुकै सुझावका आधारमा तयार गरिएको साझा सवाल छलफलमा प्रस्तुत गरिएको थियो । छलफलमा बाटो वरीपरीका घर तथा जग्गाधनीहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
साझा सवाल पारित गर्न आयोजित बैठकमा द्वन्दरत पक्षहरुसँग अलग अलग छलफल गरी उनीहरुबाटै प्राप्त साझा सवाल प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो । विवादित क्षेत्रको जग्गाहरु लालपूर्जा र नक्सा अनुसार भोगचलनमा नहुनु, नक्साको बाटोमा व्यक्तिहरुले खेतीपाती गरेर भोगचलन गरिरहनु, हाल प्रयोगमा रहेको चलनचल्तीको बाटो व्यक्तिहरुको नाममा नम्बरी दर्ता रहनु, बाटो दक्षिणका घर तथा जग्गावालाहरुलाई चलनचल्तीको भन्दा अर्को निकासको विकल्प नहुनु, नक्सा अनुसार बाटो खोल्दा भोगको बाटो उत्तर र नक्साको बाटो दक्षिणका घर तथा जग्गावालाहरुले भोग गर्दै आएको जग्गा दुई भागमा टुक्रिनु, नक्सामा बाटो जोडिएको देखिएता पनि भोगचलनमा नहुँदा जग्गावालाहरुले बाटो प्रयोग गर्न नपाउनु, विवादको कारण सामाजिक सद्भाव एवम् मित्रवत भावनामा कमी हुनु र नक्सा अनुसार विवादित क्षेत्रको सबै जग्गाहरु दक्षिण पश्चिम सरेको देखिनु रहेका छन् ।

प्रस्तुत साझा सवालमा द्वन्दरत पक्षहरुले अब विवाद समाधानतर्फ उन्मुख भएको भन्दै प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र र माकुरा समूहको प्रशंसा गरेका थिए । साझा सवाल पारित पश्चात विवादित जग्गाहरुको नापजाँच गरी नक्सा अनुसारको बाटो र चलनचल्तीको बाटो दुबै खोल्दा सबैले जीतको महसुस गर्ने भन्दै सबै जग्गाको नापजाँच पछि अर्को बैठक राख्नु पर्ने बताएका छन् ।
केन्द्रकी जिल्ला सहजकर्ता प्रज्ञा सापकोटाले सञ्चालन गर्नुभएको बैठकमा पूर्व सांसद एवम् स्थानीय डिल्ली प्रसाद उप्रेती, समाजसेवी डाकुरनाथ खतिवडा, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।