राजु तामाङ, रौतहट
फागुन २०, नेपाल आदिवासी जनजाति महासंघ रौतहटका अगुवाईहरुले चन्द्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
गत फागुन १५ गते परेको मगर समुदायको मगर दिवसमा नगरपालिकाले दिएको सार्वजनिक बिदालाई अवज्ञा गरी विद्यालय सञ्चालन गरेको विषयलाई लिएर आइतबार(आज) महासंघको नेतृत्वमा ईलाका प्रशासन कार्यालय चन्द्रपुर र ईलाका प्रहरी कार्यालय चन्द्रपुरलाई बोधार्थमा राखी महासंघले नगरपालिकामा पुगी नगर उपप्रमुखलाई ज्ञापनपत्र बुझाएको हो ।

चन्द्रपुर नगरपालिकाले उक्त दिन मगर समुदायको मगर स्थापना दिवसको अवसरमा कार्यपालिकाको बैठकबाट सार्वजनिक बिदा दिने निर्णय पारित गरी फागुन १३ गते नै सुचना प्रकाशन गरेको थियो तर नगरपालिकाले निकालेको सुचना समेतलाई अवज्ञा गरी चन्द्रपुर नगरपालिका १ मा रहेको श्री मावि गोपालकुटी पौराईले वडा अध्यक्ष बलराम राउतको निर्देशनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकले कार्यपालिकाको निर्णय समेतलाई पालना नगरी जबर्जस्ती विद्यालय सञ्चालन गरेको महासंघले जनाएको छ ।
नेपालको संविधान र कानुनले सुनिश्चित गरेको अधिकार उपभोग गर्न पाउने सबै जातजाति, भाषाभषीको नैसर्गिक अधिकार रहेकोमा सो अधिकारलाई कुन्ठित गर्नेगरी नगर कार्यपालिकाको निर्णयलाई सोही मातहतको कार्यालयले अवज्ञा गर्ने उक्त कार्य सिंगो आदिवासी जनजाति समुदाय आम मगर समुदाय र स्वयं नगरप्रमुख माथिको घोर आपमान भएको ठहर गरेको छ ।
उक्त विद्यालयको सो कार्यले विद्यालयमा अध्ययनरत बालबालिकाहरु र वडामा रहेका बहुसंख्यक मगर जातिले आफ्नो जातीय मौलिक संस्कृति मनाउने अधिकारबाट समेत वञ्चित भएको र आदिवासी जनजातिको भावनामा ठेस पुय्राउने कार्य गरेकोमा महासंघले खेद प्रकट गरेको छ ।
उक्त विद्यालयको सो कार्यको जनजाति महासंघले घोर भत्सर्ना गर्दै नगर कार्यपालिकाको निर्णयलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनको लागि निर्देशन दिने वडा अध्यक्ष राउत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई तुरुन्त कारबाहीको माग समेत राखेको छ दोषीउपरलाई कडा कारबाही नभए विरुद्ध स्वरुप चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने र त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी विद्यालयले लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यता विद्यालय परिवारले भने विद्यालयमा परीक्षा सञ्चालन भैरहेको हुनाले नगर शिक्षा समितिकै समन्वयमा उक्त दिन बिहान परीक्षा सञ्चालन गरेको बताएको छ ।