विनोद अधिकारी, लालबन्दी
फागुन १८,
सर्लाहीको लालबन्दीमा महिला तथा बालबालिकाका सवालमा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सुदृढीकरण दोश्रो चरण अन्तरगत मातृभूमि विकास नेपाल संस्थाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको प्रमुख अतिथी लगायतका बक्ताहरुले प्रशंसा गर्नुभएको छ ।
बोल्नै हिचकिचाउने तराईका महिलाहरु मेयर, उपमेयर, वडाअध्यक्षहरुको अगाडि उभिएर निर्धक्क भएर प्रश्न गर्न सक्नु निकै ठुलो उपलब्धी भएको वक्ताहरुले बताउनुभयो । उहाँहरुले महिला दिदीबहिनीहरुलाई यतिको सक्षम बनाउन सामुदायिक सुरक्षा जालो, मातृभूमि विकास नेपाल र यसका अध्यक्ष सुनिता तिमल्सिनाले प्रशंसनीय कार्य गर्नुभएको बताउनुभयो ।
संस्थाकी अध्यक्ष सुनिता तिमल्सिनाको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर उपप्रमुख कल्पनामाया पाख्रिनको विशिष्ट आतिथ्यता रहेको थियो । वडा नम्बर ५ शान्तिटोलस्थित महिला संरक्षण गृहको सभाहलमा भएको कार्यक्रममा सुरक्षा जालो समूहमा आवद्ध महिला दिदीबहिनीहरुले नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्षसहितका सरोकारवालाहरुलाई महिला तथा बालबालिकासँग सम्बन्धित प्रश्नहरु गर्नुभएको थियो । 
सहभागिहरुले विशेषगरी नगरपालिकाले नगरको स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई प्रोत्साहनस्वरुप दिने गरेको ५ हजार रुपैयाँ समान रुपले सबैले पाउन नसकेको भन्दै नगर प्रमुख उपप्रमुखसँग जिज्ञासा राख्नुभएको थियो । त्यस्तै उहाँहरुले महिलाहरुलाई स्वरोजगार बनाउन नगरपालिकाले कस्तो कार्यक्रम ल्याएको छ ? महिला लक्षित विभिन्न रोजगारमूलक तालिमहरु सबै लक्षित महिलाहरुले किन पाउन सकेनन् ? महिला हिंसाका घटनाहरुको न्यूनिकरण गर्न नगरले स्थापना गरेको लैङ्गिक हिंसा कोष कसरी सञ्चालन भइरहेको छ ? दाईजो प्रथा न्यूनिकरणका लागि के कस्ता कार्यक्रमहरु सञ्चालनमा छन् ? लैङ्गिक उत्तरदायि बजेट तर्जुमा गर्दा वडा तथा टोलमा समन्वय गरी पारित गरिन्छ कि गरिँदैन ? जस्ता प्रश्नहरु सोध्नु भएको थियो ।

जवाफमा मेयर, उपमेयर, वडाअध्यक्ष तथा सरोकारवालाहरुले महिलाहरुलाई उद्यमी बनाई आयआर्जनमा टेवा पु¥याउन नगरपालिकाले काम गरिरहेको बताउनुभएको थियो । नगरप्रमुख बासुदेव अधिकारीले विशेषगरी स्वास्थ्य र कृषिमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उदेश्य अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले महिलाहरुलाई उद्यमी बनाई आयआर्जनमा टेवा पु¥याउन नगरपालिकाले विभिन्न रोजगारमूलक तालिमहरुको गरिरहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र कृषिमा आमूल परिवर्तन ल्याउने आफूहरुको योजना रहेको र सोही अनुरुप काम भइरहेको बताउनुभयो ।
त्यस्तै उपमेयर कल्पना माया पाख्रिनले महिलाहरुको प्रजनन् स्वास्थ्यसहित नगरअस्पतालबारे आएका गुनासोहरुलाई आफूहरुले गम्भीर रुपमा लिएको र स्वास्थ्य सम्बन्धी सेवामा आगामी दिनमा गुणस्तरीय प्रवाहमा आवश्यक व्यवस्था मिलाईने बताउनुभयो ।
कार्यक्रममा वडाअध्यक्ष मिन प्रसाद ढुंगेल(रामु), नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका कोषाध्यक्ष बैकुण्ठ सापकोटा, चेम्बर अफ कमर्स लालबन्दीका प्रतिनिधि बालकृष्ण कार्की लगायतले महिलाहरुलाई उद्यमी बनाउन नगरपालिकाले नै विभिन्न प्रोत्साहनका कार्यक्रमहरु ल्याउने पर्ने र आफूहरुले पनि त्यसमा सहयोग गर्ने बताउनुभयो ।
महासंघ मधेश प्रदेश कोषाध्यक्ष सापकोटाले नगरका पर्यटकीय सम्भावना बोकेका नारायण डाँडा, अर्नेडाँडा जस्ता क्षेत्रहरुको पहिचान गरी होमस्टे सञ्चालन गरेर, यहाँका जंगलहरुमा पाईने अमला लगायतका फलहरुको अचार बनाएर व्यवसायलाई प्रवद्र्धन गर्न सकिने बताउनुभयो । टेवाकी टिम लिडर रुपा उदास, अनुगमन अधिकृत कविता भण्डारी समेतको आतिथ्यता रहेको कार्यक्रममा टेवा धापाखेलकी टिम लिडर उदासले टेवा के हो ? यसले के के काम गर्छ ? त्यस्तै सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण कार्यक्रम के हो भन्नेबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
सामुदायिक सुरक्षा जालोकी सदस्य सविता सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन पत्रकार सोम दियालीले गर्नुभएको थियो ।