सोम दियाली, हरिपुर्वा
फागुन १४, विवादै विवादको अखडा बनेको सर्लाहीको हरिपुर्वा नगरपालिका अझै समान्य अवस्थामा फर्कन सकेको छैन । तनाबकाबीच फागुन ७ गते बल्लतल्ल नगरसभा सम्पन्न गरेपनि नगरका जनप्रतिनिधिहरुबीचको विवाद र नगरका आम समस्या नसल्टिएको हो ।
विगत ७ महिनाभन्दा बढी समयदेखि तलब नपाएका कर्मचारीहरुले आन्दोलन फिर्ता गरेका छैनन् । जनप्रतिनिधिबीच बजेट भागवण्डामा कुरा नमिल्दा र प्रमुख प्रशासकीय अधिकृत फेरिएको फेरियै हुने कारण नगरसभा हुन नसकेको हरिपुर्वामा माघ २८ गतेदेखि कर्मचारीले अनिश्चितकालीन धर्ना दिन सुरु गरे । त्यसपछि मेयर विनोद कुमार साहसहितका जनप्रतिनिधिलाई नगरसभा जसरी पनि गर्न दवाव सिर्जना भयो । माघ २९ गते बसेको कार्यपालिका बैठकले फागुन ७ गते नगरसभा गर्ने निर्णय ग¥यो । तर सात गते पनि केही लफडा भयो तर बाक्लो मात्रामा सुरक्षाकर्मीको उपस्थितिमा बहुमत कार्यपालिका सदस्यको समर्थनमा नगरसभा सम्पन्न भयो ।
तर नगरसभा भएपनि कर्मचारीहरुले तलब पाउने ग्यारेण्टी भने अझै नहुँदा नगरका कर्मचारी, वडाका सचिवसहितका कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, शिक्षकहरु वडाकार्यालय, स्वास्थ्यकार्यालय र विद्यालय नै बन्द गरेर अहिले धर्नामा नै बसि रहेका छन् ।
नगरसभा भैसक्यो तपाईहरुले तलब पाउनु नै हुन्छ अब आन्दोलन फिर्ता गरेर काममा किन नफर्केको भन्ने पत्रकारको प्रश्नमा धर्नारत कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरुले आफूहरुले तलब पाउने ग्यारेण्टी भए तत्कालै आन्दोलन फिर्ता लिन तयार भएको बताए ।
‘हाम्रो माग नगरसभा होइन तलब हो, हामीले तलब पाउने ग्यारेण्टी नहुँदा सम्म आन्दोलन जारी नै रहन्छ ।’ धर्नामा वसेका एक कर्मचारीले विश्वनाथ यादवले भने ।
धर्नामा बसीरहँदा कोही जनप्रतिनिधि पनि आफूहरुसँग कुरा सम्म गर्न नआएको धर्नामा बसेका एक विद्यालयका केमिष्ट्री टिचर रञ्जीत कुमार यादवले बताए । ‘मेयर, उपमेयर, वडाअध्यक्ष कसैले पनि हाम्रो माग सम्बोधनका विषयमा केही भन्नु भएन । हामीलाई पनि काममा फर्कन हतार छ । जनताले सेवा पाएका छैनन, विद्यार्थीले पढ्न पाएका छैनन् । बार्षिक परीक्षा, एसईई परीक्षा नजिकिई सकेको छ । तर यहाँ त कसैलाई मतलब नै छैन ।’
यता कर्मचारीहरुको आन्दोलनका विषयमा मेयर विनोद कुमार साहले आफूले उनीहरुको पटक पटकको आन्दोलनमा आश्वासन दिएको तर पूरा गर्न नसकेको कारण अहिले नगरसभा भईसक्दा पनि उनीहरुको तलबको ग्यारेण्टी नभएपछि आफूले उनीहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्न नसकेको बताए । उनले भने, ‘नगरसभा त भयो, तर नगरको खाता सञ्चालनमा आएको छैन । कोलेनिका हाकिमको सरुवा भएकोले अहिले सम्म खाता सञ्चालनमा ल्याउन सकेका छैनौं । त्यहाँ पनि नगरको विकासका बाधकहरुले चलखेलको प्रयास गरिरहेका छन् । यस्तो अवस्थामा मैले कर्मचारी साथीहरुको आन्दोलनलाई रोक्नुस र काममा फर्कनुस भन्न नसकेको हो । अब नगरको खाता सञ्चालनमा आउनेवित्तिकै कर्मचारी साथीहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नेछु । म आफै पनि विश्वस्त हुन नसकेकोले उहाँहरुलाई विश्वस्त पार्न मुस्किल भएको हो ।’
उहाँले हरिपुर्वामा अहिलेको अवस्था सिर्जना हुनुमा संघीय सरकार दोषी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयले हरिपुर्वामा प्रमुख प्रशासकीय अधिकृत नै पठाउन सकेन । पठाएका जतिलाई कतिलाई बाटैबाट त कतिलाई २४ घण्टा, कतिलाई सात दिन मै सरुवा गर्छ । किन त्यसो गरेको भन्दा खानेपानीमन्त्रीको दबावमा सबै भएको हो भन्ने जवाफ आउँछ ।’
खानेपानीमन्त्री महेन्द्र राय यादवप्रति असन्तुष्टी पोख्दै मेयर साहले भन्नुभयो,‘तीस वर्षदेखि यो क्षेत्रको माननीय हुनुभएको छ । पटक पटक मन्त्री हुनुभएको छ । तर उहाँले हरिपुर्वाको लागि केही गर्नु भयो ? उहाँले गरेको कुनै राम्रो काम देखाउनुस त सक्नुहुन्छ ?’
मेयर साहले मन्त्रीपदमा भएको व्यक्तिले मेयरसँग टक्कर लिने होईन । उहाँले बरु मिलेर यहाँको विकासमा योगदान दिनुपर्छ । तर उहाँले त हरेक कुरामा अवरोध गर्नुभएको छ । कामै हुन नदिने । जो हाकिम आएपछि मन्त्रीपदको दुरुपयोग गर्दै सरुवा गराउने यस्तो पाराले उहाँलाई राम्रो त हुँदैन । हरिपूर्वाका जनतालाई पनि हुँदैन । तर अब हरिपुर्वाका जनताले मेयर गलत कि मन्त्री गलत भन्ने बुझि सकेका छन् । अब नगरपालिका सामान्य अवस्थामा फर्कन्छ र यहाँका विकास निर्माणका कामहरु नियमित रुपमा अघि बढ्छ भन्नेमा म विश्वस्त छु । ’