Photo of helmet and motorcycle on road, the concept of road accidents
भाइरल पोष्ट, काठमाण्डौ
फागुन १३ । सर्लाहीमा सवारी दुर्घटना बढेको छ । दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा समेत वृद्धि भएको छ । यसै क्रममा गएराती जिल्लाको गोडैतामा भएको मोटरसाईकल दुर्घटनामा परी एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चक्रघट्टा गाउँपालिका ९ खोरियाका अन्दाजी ५० वषिय नागेन्द्र राय रहेका छन् ।
गएसाँझ अन्दाजी ८ बजेको समयमा गोडैता ८ स्थित भित्री सडक खण्डमा बकैनियातर्फ जाँदै गरेको मोटरसाईकलले दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । मधेश प्रदेश ०२–००७ प १२३० नम्बरको मोटरसाईकलले ठक्कर दिँदा खोरियाका ५० वर्षिय नागेन्द्र र सोही ठाउँका ४५ वर्षिय पंचलाल यादव घाईते भएका थिए । नागेन्द्रको टाउको, मुख र खुट्टामा चोट लागेको थियो भने पंचलालको शरीरको विभिन्न भागमा चोट लागेको थियो ।
त्यस्तै मोटरसाईकल चालक गोडैता ६ का अन्दाजी २३ वर्षिय श्याम रायको टाउको, निधार र बाँया हातमा चोट लागेको थियो । घटनापछि तीनै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।
ती मध्ये ५० वर्षिय नागेन्द्रको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।