भाइरल पोष्ट, हरिवन ।।
चैत्र १० गते ।। सर्लाहीको हरिवन नगरपालिकामा ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने चेतनमूलक ¥यालीसहित १४१औं विश्व क्षयरोग दिवस मनाइएको छ ।
आज बिहान हरिवन बजारबाट नगरपालिकाको कार्यालयसम्म ¥याली गर्दै नगरपालिकाको सभाहलमा नगरप्रमुख कमल बुढाथोकीको अध्यक्षतामा चेतनामूलक कार्यक्रम गर्दै दिवस मनाइएको हो । दिवसकै अवसरमा क्षयरोगको जाँच तथा उपचारमा उत्कृष्ट कार्य गरेको भन्दै घुर्कौली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा अन्य स्वास्थ्यकर्मीहरुलाई दोसल्ला ओढाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख मेयर कमल बुढाथोकीले नगरपालिकालाई क्षयरोग मुक्त नगरबनाउने अभियानमा दिवसका अवसरमा आयोजित कार्यक्रमले थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूलाई पनि क्षयरोगबाट पीडित भईसकेको भन्नुहुँदै आफूलाई क्षयरोग लागेको कुरा लुकाउने प्रवृतिका कारण यो रोग न्यूनिकरणमा समस्या आएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘क्षयरोग लागेको कुरा काठमाण्डौंमा गएर जँचाउने अनि यहाँ आएर कसैलाई नभन्ने, रोग लुकाएर राख्ने जस्ले गर्दा अभियानमा बाधा परेको छ । त्यसैले अरुलाई सचेत बनाउन पनि रोगीले रोग लुकाउन हुँदैन ।’
कार्यक्रममा बोल्नुहुँदै बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले आफूहरुले विगत सात वर्षदेखि मधेश प्रदेशका आठओटै जिल्ला र कोशी प्रदेशका केही जिल्लाहरुमा काम गरिरहेको बताउनुभयो । उहाँले आफूहरुले मात्रै गरेको कार्यक्रम प्रभावकारी नभएको हो कि भनेर पालिकाहरुसँग मिलेर क्षयरोग निवारणमा काम गरेको बताउनुभयो । उहाँले हरिवन नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउन आवश्यक सबै सहयोग गर्न आफूहर तयार रहेको बताउनुभयो ।
हरिवनमा विशेषगरी कुपोषित बालबालिकामा क्षयरोग बढी देखिएको क्षयरोग कार्यक्रमकी अधिकृत रोशनी घतानीले बताउनुभयो । उहाँले पालिकालाई क्षयरोग मुक्त बनाउने अभियान अन्तर्गत गाउँगाउँबाट खकार संकलन गर्ने, परीक्षण गर्ने, निःशुल्क औधषी विरतण गर्ने काम भइरहेको बताउनुभयो । उहाँले यस वर्ष गएको माघ सम्ममा नगरभित्र ६७ जनामा क्षयरोग भएको पत्ता लागेको बताउनुभयो ।
त्यस्तै बागमती सेवा समाजका क्षयरोग कार्यक्रमका संयोजक अमजल मिकरानीले नेपालमा दैनिक १९१ जना नयाँ विरामी पत्ता लाग्ने गरेको तीमध्ये ४४ जनाको मृत्यु हुने गरेको र ११५ जना उपचारमै नआउने गरेको बताउनुभयो । सर्लाहीमा २ हजार १२० जना रोगी पत्ता लगाउने लक्ष्य भएपनि अहिले सम्म १ हजार ४६२ मात्रै पत्ता लागेको बताउनुभयो ।
कार्यक्रममा उपमेयर हरिमाया घलान, हरिवन ९ का वडाअध्यक्ष कोकिलानन्द उप्रेती, नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीसहित नगरका सबै स्वास्थ्य संस्थाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका झण्डै एक तिहाई मानिस माईक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण लाग्ने संक्रामक क्षयरोगबाट ग्रसित छन् । नेपालमा प्रत्येक वर्ष ६९ हजार विरामी थपिने गरेको ती मध्ये १६ हजारको मृत्यु हुने गरेको छ ।