सोम दियाली, मलंगवा ।।
चैत्र ९ गते ।। यही चैत्र १७ गतेबाट देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसईई)मा सर्लाहीबाट झण्डै ११ हजार परीक्षार्थी सहभागि हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले दिएको जानकारी अनुसार यस बर्ष सर्लाहीबाट नियमिततर्फ १० हजार ६२४ र प्राविधिक धारका २९२ गरी कुल १० हजार ९१६ परीक्षार्थी एसईई परीक्षामा सहभागि शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाल बताउनुभयो ।
प्राविधिक सहायक कुशवाहाका अनुसार परीक्षा सञ्चालनका लागि अहिले प्रत्येक परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाउने काम भइरहेको छ । एसइइ परीक्षा सञ्चालनका लागि जिल्लाभर गत वर्षभन्दा एक केन्द्र थप गरी ३७ वटा परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष ३६ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष चक्रघट्टा गाउँपालिकामा पनि पहिलो पटक एसइइको परीक्षा केन्द्र कायम गरिएको छ । चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालयमा पहिलो पटक परीक्षा केन्द्र कायम गरिएको हो ।
एसईई परीक्षामा सामुदायिक ९८, संस्थागत ४५, खुला दुई र गृहणी एउटा गरी १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् । परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष बनाएर एसईई सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहले बताउनुभयो ।
प्राविधिक सहायक कुशवाहाले भन्नुभयो, ‘विगतको अनुभवकै आधारमा परीक्षा केन्द्र परेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ । प्रधानाध्यापकले नमिल्ने स्थापनमा प्रधानाध्यापक भन्दा दोश्रो बरियताका शिक्षकलाई केन्द्राध्यक्ष तोकिने छ ।’
एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि चैत १० गते प्रदेश राजधानी जनकपुरमा मधेश प्रदेशस्तरीय अभिमुखीकरण राखिएको सो अभिमुखीकरण सकिएपश्चात जिल्लामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षलगायतलाई अभिमुखीकरण प्रदान गरिने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जानकारी दिएको छ ।