भाइरल पोष्ट, चन्द्रनगर ।।
चैत्र ५ गते ।। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा निःशुल्क ग्रामिण अल्ट्रासाउन्ड सेवा सुरु शुरु भएको छ ।
समयमै गर्भबती महिलाहरुको गर्भावस्थामा आमा र बच्चाको जटिलता पत्ता लगाई मातृ मृत्यु दर र नवजात शिशु मृत्यु दर घटाउन चन्द्रनगर गाउँपालिकाले गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा सुचारु गरेको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले वडा नं.२ स्थित बबरगंजमा रहेको स्वास्थ्य चौकीमा ग्रामिण अल्ट्रासाउन्ड सेवाको आज उद्घाटन गर्नुभएको छ । ग्रामिण अल्ट्रासाउन्ड सेवा वडा नं २ बबरगंजमा सुचारु गरिए पनि प्रत्येक वडाको स्वास्थ्य संस्थामा सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीले जानकारी दिनुभयो ।
ग्रामिण अल्ट्रासाउन्ड सेवा प्रत्येक महिनाको ८ गते वडा नं १ लघुवामा महिला स्वास्थ्य स्वयंसेविकाको घरमा, १८ गते स्वास्थ्य चौकी किसनपुरमा, वडा नं ३ स्थित रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र बडकुर्वामा ४ र २४ गते प्रदान गरिने छ । यसैगरी वडा नं ४ स्थित रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र पोखरीमा ५ र २० गते, वडा नं ५ स्थित रहेको स्वास्थ्य चौकी मोहनपुरमा १० र १२ गते, वडा नं ६ स्थित स्वास्थ्य चौकी चन्द्रनगरमा ५, १५, २८ गते अल्ट्रासाउन्ड सेवा प्रदान गरिने छ ।
त्यस्तै वडा नं ७ स्थित रहेको खड्काटोलमा ६ गते तथा आधारभुत स्वास्थ्य सेवा केन्द्र चन्द्रनगरमा १६ गते र बाँकी दिन वडा नं २ मा रहेको स्वास्थ्य चौकी बबरगंजमा निःशुल्क ग्रामिण अल्ट्रासाउन्ड सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।