भाइरल पोष्ट, मलंगवा ।।
चैत्र ३ गते ।। मलखादमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल किसान महासंघ सर्लाहीले शुक्रवार (आज) प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन–पत्र बुझाएको छ ।
महासंघका सर्लाही जिल्ला अध्यक्ष विष्णुमणि घिमिरेको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत नेपाल सरकार कृषि मन्त्रालयलाई ज्ञापन–पत्र बुझाइएको हो ।
सरकारले केही दिनअघि मात्रै मलमा दिँइदै आएको अनुदान कटाएपछि मलखादको मूल्य वृद्धि भएको छ ।
सरकारले मलको अनुदान काटी बीउ, बिजनमा गरेको मूल्यवृद्धि प्रति नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ । सरकारको यो निर्णयले निरीह किसानको थप ढाड सेक्ने काम भएको महासंघले जनाएको छ ।
लाखौँ किसानसँग जोडिएको मागलाई सरकारले शिघ्र सम्वोधन नगरे सम्पूर्ण किसानहरुलाई साथमा लिई सडक आन्दोलनमा उत्रने ज्ञापन–पत्रमार्फत चेतावनी दिइएको छ ।