भाइरल पोष्ट, हरिवन ।।
फागुन १४ गते ।। त्रिविले तोकेकै मितिमा स्ववियू चुनाव गराउन माग गर्दै हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखि क्याम्पसका चार विद्यार्थी संगठनले संयूक्त रुपमा हरिवनमा चक्काजाम गरेका छन् ।
आगामी चैत्र ५ गतेका लागि त्रिविले स्ववियू चुनाव गराउने मिति तोकेको भएपनि क्याम्पस प्रसाशनले फागुन १२ गते गरेको निर्णयले अनिश्चित बनेको भन्दै त्रिविले तोकिएकै मितिमा स्ववियू चुनाव गराउन माग गर्दै उनीहरुले शनिबार विज्ञप्ती नै निकालेका थिए ।
त्रिविले तोकेको स्ववियू समयमा चुनाव गराउन माग गर्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू एस र संघीय समाजवादी विद्यार्थीहरुले सुखेपोखरीस्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँढे सात बजेदेखि विहान साँढे नौ बजे सम्म टायर बालेर चक्का जाम गरेका हुन् । उनीहरुले चैत्र ५ गते नै चुनाव हुनुपर्ने भन्दै विहान क्याम्पस समयमा क्याम्पसका नाराबाजी गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । तालाबन्दी पछि नाराबाजी गर्दै उनीहरुले राजमार्गमा आएर टायरबालेर चक्काजाम गरेका अनेरास्ववियू(एस) का विद्यार्थी नेता युवराज भण्डारीले बताए ।
चार विद्यार्थी संगठनले हिजो जारी गरेको विज्ञप्तीमा भनिएको छ्,–‘विद्यार्थीको हक अधिकारीको निमित्त र क्याम्पसहरुको निमित्त बनेको त्रिविको नियम विपरीतको क्याम्पस प्रसाशनको उक्त निर्णयको घोर भत्र्सना गर्दछ ।’ उनीहरुले त्रिविले तोकेकै मितिमा स्ववियू चुनाव गराउन क्याम्पसलाई आग्रह गर्दै विद्यार्थीको हक हितलाई सुनिश्चित गर्न अनुरोध गर्दै शिक्षण क्रियाकलापलाई नियम रुपमा सञ्चालन नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
सोही अनुरुप आफूहरुले पूर्व पश्चिम राजमार्गमा चक्का जाम गरेर आन्दोलन गरेको अनेरास्ववियू(एस) का चबज क्याम्पस कमिटीका अध्यक्ष प्रेमराज दाहालले बताए ।
यता क्याम्पस प्रशासनले भने असहज परिस्थितिका कारण तोकेको मितिमा स्ववियू चुनाव गर्न नसक्ने भएको जनाएको छ । क्याम्पस प्रमुख गंगा भुजेलले भने,‘असहज परिस्थितिका कारण हामीले तोकेको समयमा चुनाव गराउन सक्ने अवस्था छैन ।’ उनले भने,‘विद्यार्थीहरुले हाम्रो बाध्यतालाई पनि बुझिदिनु पर्दछ ।’