राधेश्याम कुशवाहा, मलंगवा ।।
फागुन १३ गते ।। चालु आर्थिक बर्ष २०७९/८० मा शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीको स्वीकृत कार्यक्रम एवम् स्थानीय तहमा वित्तिय हस्तानान्तरण भएका कार्यक्रम सम्बन्धी “विधालय एवम् स्थानीय तहका पदाधिकारीहरूलाई शैक्षिक नीति अभिमुखीकरण कार्यक्रम, २०७९” सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीको आयोजनामा तथा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा सदरमुकाम मलंगवा स्थित होटेल सुजाता पैलेसमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख एवम् जिल्ला शिक्षा समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले पानसमा बत्ति बालेर समुदघाटन गरेका थिए ।

कार्यक्रममा जिल्लाको बसबरिया गाउँपालिका, हरिवन नगपालिका, हरिपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुखहरुले आ–आफनो स्थानीय तहको शैक्षिक अवस्थाबारे प्रस्तुति राखेका थिए । अभिमुखिकरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जिल्लाको प्रशासनिक विभाजन, साक्षरताको विद्यमान अवस्था, विद्यालय विवरण, तहगत दरबन्दी÷राहत नभएका विद्यालय विवरण, विद्यार्थी विवरण, शिक्षक विवरण (साधारणतर्फ), शिक्षक अनुदान (प्राविधिक धार), नमुना विद्यालय, प्राविधिक धार संचालित विद्यालय, सिटिइभिटीद्वारा संचालित शैक्षिक कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।
त्यस्तै उनले जिल्लामा स्वीकृत शिक्षक दरबन्दी तथा शिक्षक अनुदान कोटा (राहत) नभएकाहरुलाई बार्षिक एकमुष्ठ अनुदान पाउने सामुदायिक विद्यालयहरु, स्रोतकक्षा संचालित मातृविद्यालयहरु, सामुदायिक सिकाइ केन्द्रहरु, खुल्ला विद्यालय, २०७८ सालको माध्यमिक शिक्षा परीक्षा( एसईई), २०७८ सालको ग्रेडबृद्वि परीक्षा, जिल्ला परीक्षा समिति, सर्लाहीबाट उत्कृष्ट केन्द्र र केन्द्राध्यक्ष घोषणा गरिएको, निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र परीक्षा, विद्यालय छोडने दर, शिक्षक सेवा आयोगका सिफारिस, स्नातक वा सो भन्दा माथि पढाई हुने क्याम्पसहरु, शिक्षा विकास तथा समन्वय इकाइबाट कार्यान्वयन हुने कार्यक्रमहरु, विकासका साझेदार संस्थाहरु तथा कार्यक्रमहरु र हाम्रो चिन्ता, चासो र अबको बाटो लगायतका विषय समेत जानकारी गराएका थिए ।
शिक्षक नियूक्ति तथा सरुवाको अधिकार शिक्षा विकास तथा समन्वय इकाइमा प्राप्त विभिन्न परिपत्रहरू देखाउदै उनले स्थानीय तहले कानुन विपरीत शिक्षा इकाइसंग समन्वय नै नगरी गरेको पाइएमा सो नियूक्ति÷ सरुवा स्वतः खारिज हुने जानकारी समेत कुशवाहाले गराएका थिए ।
स्वागत मन्तव्य कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका निमित्त रामअधार सिंह कुशवाहाले स्थानीय सरकार संचालन ऐनले २३ अधिकार स्थानीय तहलाई र बाँकी अधिकार शिक्षा विकास तथा समन्वय इकाइलाई दिएको जानकारी गराए ।
हामीले इकाइमा हुने कुनै पनि काम स्थानीय तहको सिफारिस विना गर्दैनौं, उहाँले भने । शिक्षक सरुवा, नियूक्ति, पेन्शन तथा खाता संचालन लगायतका कामहरु स्थानीय तहको जानकारी अथवा सिफारिसकै आधारमा गर्दै आएका छौं । तर दुर्भाग्यवश स्थानीय सरकारले गरेका कुनै पनि कार्यहरुमा शिक्षा इकाइसंग समन्वय नगरेको गुनासो गरे ।
गत वर्षका अभिमुखीकरण कार्यक्रममा समेत २० वटा स्थानीय तहमध्ये २ वटा स्थानीय तहका जनप्रतिनिधिहरु मात्र उपस्थिति रहेको थियो । उहाँले भने, शिक्षा सम्बन्धी कार्यक्रममा जनप्रतिनिधिहरुको न्यून उपस्थिति प्रति इकाइ, प्रमुख कुशवाहाले गहिरो दुख समेत प्रकट गरे ।
गोडैता नगरपालिका नगर प्रमुख देवेन्द्र कुमार यादवले जिल्लाका अन्य स्थानीय तहको तुलनामा गोडैता नगरले उत्कृष्ठ कार्य गरेको दाबी गरेका थिए । उहाँले नगरलाई शिक्षाको हब बनाउने नीति लिएको बताएका थिए, भने बलरा नगरपालिकाको नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले नगरको पहिलो प्राथमिकता शिक्षा नै रहेको दाबी गर्दै शिक्षा सुधारका लागि ३ करोड भन्दा बढी बजेट विनियोजन गरेको बताए ।
त्यस्तै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले शिक्षाको गुणस्तर सुधार तथा शिक्षकहरु विद्यालय समयमा नियमित उपस्थितिका लागि लगाएको ई–हाजिरीलाई विद्यालयका केही प्रधानाध्यापक तथा शिक्षकहरु अटेरी गरेको गुनासो गरे भने विष्णु गाउँपालिकाका अध्यक्ष जवाहर यादवले प्रदेशकै पिछिडिएका स्थानीय तहमा शिक्षा संचालन ऐन निर्माण गरी शिक्षा क्षेत्रमा गरेका उल्लेख्नीय कार्यहरुको अवलोकनका लागि सबैमा अपिल गरे ।
कार्यक्रममा बोल्दै जनज्योति, लालबन्दीका पूर्व प्रधानाध्यापक रामनिवास साहले शिक्षकहरु विद्यालयप्रति जिम्मेवार नभएका कारण शिक्षाको अवस्था खस्कदै गएको टिप्पणी गरे । शिक्षामा सुधारका लागि शिक्षकहरुलाई नैतिकताको पाठ सिकाउनुपर्ने हुन्छ, उहाँले भने । नैतिकवान कसरी बन्ने जसको लागि अन्तरक्रिया र गोष्ठी समेत चलाउनुपर्छ ? सरकारी विद्यालयप्रति अभिभावक पनि जागरुक नरहेका कारण उनीहरुलाई पनि अवार्नेस कार्यक्रम मार्फत सुसुज्जित गराउनु पर्ने आवश्यकता देखिन्छ ।
विद्यालयमा नामांकन भएका विद्यार्थी र धरातलमा उपस्थितको संख्यामा ठुलो अन्तर रहनु पनि एउटा चिन्ताको विषय रहेको छ, उनले भने । जिल्लामा अनगिन्ती एनजिओ र आइएनजिओ समेत संचालनमा भएपनि जिल्लाका साक्षरता प्रतिशत ३०–३५ प्रतिशत मात्र रहेको गुनासो गरे । कुनै पनि कार्यलयका प्रमुख नसुधरेसम्म कार्यालय नसुध्र्ने बताउदै शिक्षा सुधारका लागि विद्यालयका प्रधानाध्यापक पहिला सुधारिनुपर्ने उहाँले सुझाए ।
केही विद्यालयका शिक्षक तथा प्रधानाध्यापकको अनुसार विद्यालय व्यवस्थापन स्थानीय सरकारले पाएदेखि विद्यालय संचालनमा थप कठिनाइ र चुनौती थपिएका तितो अनुभव समेत हामीलाई सुनाएका कारण स्थानीय स्तरमा भएका विद्यालयका शिक्षा गुणस्तर सुधारका लागि स्थानीय सरकारले पनि सहज वातावरण निर्माण गरिदिनुपर्छ, उनले भने । विगतलाई सम्झदै उनले भने, कुनै बेला जिल्लाका उत्तरी भेगका विद्यार्थीहरु गोडैता, सुन्दरपुर र मलंगवाका विद्यालयमा पठन आउने गर्दथ्यो । आज यस्तो अवस्था आएको छ कि हाम्रो भेगका सबै विद्यार्थीहरु उत्तरी भेगमा पढन जाने गरेका सुनाए । शिक्षामा सुधारका लागि सबैले गम्भीर हुनुपर्नेमा पूर्वप्रधानाध्यापक साहले जोडदिए ।
विद्यालय तथा शिक्षामा सुधारका लागि प्रशासनिक आवश्यकता भए जिल्ला प्रशासन कार्यालयले सहयोग तथा समन्वयका लागि प्रतिबद्व रहेको जिल्ला प्रशासन कार्यलय,सर्लाही प्रजिअ इन्द्रदेव यादवे जानकारी गराए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेका कौशल किशोर सिंहले “विधालय एवम् स्थानीय तहका पदाधिकारीहरूलाई शैक्षिक नीति अभिमुखीकरण सम्बन्धी लगायतका कार्यक्रमलाई नियमित संचालन गरिने जानकारी गराए ।
सर्लाहीका शिक्षामा मुख्य २ पाटोका समस्या रहेका छन । केहि विद्यालय नियमित संचालन भएका छैन, शिक्षक समयमा आएका छैन, विधालय समय अगावै विद्यालय छोडने गरेका छन, यो शिक्षामा रहेको समस्याको एउटा पाटोका रहेको छ भने विद्यालय नियमित संचालन भएर पनि सिकाई उपलब्धि सम्मानजनक छैन, यो अर्काे पाटो रहेका छन । उनले भने ।
हामी पढाई नियमित हुने तर सिकाई उपलब्धि नहुने विषयमा पनि संवेदशील छौं। त्यहाँका अवस्था कसरी सुधार गर्ने बारे ? त्यहाँ शिक्षक, शिक्षाप्रेमी लगायत हामी इमान्दार मात्र भइदियो भने सिकाई उपलब्धि आउने उहाँको कथन थियो । शिक्षा तथा विद्यालयमा हाल देखिएका विकृति तथा वेथितिलाई अन्त्य गरी शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबैको सक्दो सहयोग हुनुपर्नेमा समेत उनले जोड दिए ।
राजनीतिक चलखेलका कारण राम्रो शिक्षकलाई विद्यालयमा टिक्न नदिने गरेका कारण जिल्लाको तल्लो भेगका विद्यालयमा शिक्षाको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको प्रमुख अतिथि सिंहले जिकिर गरे । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख श्री कौशल किशोर सिंह, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय सर्लाहीका उपनिर्देशक संन्तोष ढुंगेल, ब्रहमपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव, गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादव, बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहा, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष श्री राजकुमार महतो, बसबरिया गाउँपालिका अध्यक्ष रामसिंहासन यादव लगायत स्थानीय तहका प्रमुख ÷अध्यक्ष, उप–प्रमुख÷उपाध्यक्ष, शिक्षा शाखा प्रमुख, पत्रकार, शिक्षक, प्रधानाध्यापक, विव्यस पदाधिकारीको उपस्थिति लगायत व्यक्तिहरुको उल्लेख्नीय उपस्थिति रहेको थियो ।