राजु तामाङ, लालबन्दी ।।
फागुन १३ गते ।। नेपाल तामाङ घेदुङ सर्लाहीको अध्यक्षमा लालबन्दीका बुद्ध लामा सर्वसम्मत चयन भएका छन् । घेदुङको शनिबार लालबन्दीमा सम्पन्न ८औं जिल्ला अधिवेशनले लामाको नेतृत्वमा घेदुङ सर्लाहीको १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
घेदुङका जिल्ला अध्यक्ष हिराकाजी लामाको अध्यक्षता तथा केन्द्रीय सदस्य जयमान पाख्रिनको प्रमुख आतिथ्यतामा लालबन्दी ८ स्थित टसी धार्केलिङ गुम्बामा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा बुद्ध लामासहित उपाध्यक्ष्मा उपाध्यक्षमा शशी बल, महिला उपाध्यक्षमा हिरामाया लोप्चन, सचिवमा संगिता घिसिङ, सह–सचिवमा धर्म सिं गोले र कोषाध्यक्षमा सरिता कुमारी लोप्चनलाई सर्वसम्मच चयन गरेको घेदुङ हरिवन नगर अध्यक्ष राजु लो तामाङले बताए ।
घेदुङको विधान सम्मत २१ सदस्यीय कार्यसमिति रहने भएपनि भौगोलिक हिसाबले मिलाएर पछि मनोनीत गर्ने गरी नेतृत्व चयन गरिएको नगर अध्यक्ष तामाङले जानकारी दिए । अधिवेशनमा तामाङ बाहुल्यता रहेको लालबन्दी, हरिवन, ईश्वरपुर, बागमती, हरिपुर र बरहथवा गरी ६ ओटा पालिकाबाट आएका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अधिवेशनमा नेपाल तामाङ घेदुङका मधेश प्रदेश उपाध्यक्ष संजिव मोक्तान, प्रदेश कोषाध्यक्ष छ्योइसाल ग्लान, पुर्व केन्द्रीय सदस्यहरु छत्र बहादुर डुम्जन, इन्द्र योन्जन, हरिवन नगर घेदुङ अध्यक्ष राजु लो, महिला नेतृ सोनी कुमारी बोम्जन, सानु पाख्रिन, लालबन्दी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शुक्र लामा, तामाङ पत्रकार संघ सर्लाहीका अध्यक्ष तथा बागमती नगर घेदुङका सचिव चन्द्र बहादुर जिम्बा, विद्यार्थी घेदुङ सर्लाहीका अध्यक्ष चन्द्र स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।
अधिवेशनका अतिथीहरुले घेदुङको नयाँ नेतृत्वलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनीहरुले तामाङ जातिको हक, हित र उत्थानका लागि जिल्लामा नयाँ नेतृत्वको उल्लेख्य भूमिकाको अपेक्षा गरेको बताएका छन् ।
यसैबीच, लामो समय जिल्लाको नेतृत्व सम्हालेका निवर्तमान अध्यक्ष हिराकाजी योन्जनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेका छन् ।