सोम दियाली, हरिवन ।।
फागुन ७ गते ।। सर्लाहीको हरिवन ८ स्थित चुरे जनता आधारभूत विद्यालयमा अक्षयकोष स्थापना तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक उप्रेतीको अध्यक्षता तथा हरिवन नगरपालिकाका प्रमुख मेयर रमेश कुमार बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा सहयोग पु¥याउने उदेश्यले डाक्टर नरेन्द्र प्रसाद मैनाली र उनका धर्मपत्नी प्रतिभा आचार्य मैनालीले अक्षयकोष स्थापना गर्दै बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका हुन् ।
हरिवन घर भई हाल काठमाण्डौ बस्दै आएका डा.मैनाली दम्पतीले प्रजातन्त्र दिवसको अवसर पारेर विद्यालयमा अक्षयकोष स्थापना गरेको बताएका सो विद्यालयका प्रधानाध्यापक डिल्लीराम भट्टराईले बताए ।
अक्षयकोष स्थापना तथा शैक्षिक समाग्री वितरण कार्यक्रममा बोल्दै बक्ताहरुले जनताका छोराछोरीले गुणस्तरीय शिक्षा पाउने थलो नै सामुदायिक विद्यालय भएकोले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा सबैले हातेमाले गर्नुपर्ने बताए ।
कार्यक्रममा हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, उपमेयर हरिमाया घलान, वडा नम्बर ८ का अध्यक्ष प्रज्वल ढुंगाना, दाता डा. नरेन्द्र प्रसाद मैनाली, बागमती समाज सेवा नेपालका अध्यक्ष भरत कुमार कार्की लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
पछिल्लो समय चुरे जनता आधारभूत विद्यालयको शैक्षिक तथा भौतिक सुधारको आफूहरुको अभियानमा चौतर्फी सहयोगहरु प्राप्त भईरहेको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक उप्रेतीले डा.मैनालीले स्थापना गरेको अक्षयकोषबाट आएको ब्याजबापतको पैसा विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा लगानी गरिने बताए ।
उनले डा.मैनाली दम्पतिले विद्यालयलाई गरेको सहयोगको सराहना गर्दै धन्यवाद व्यक्त गरे ।