भाइरल पोष्ट, लालबन्दी ।।
फागुन ७ गते ।। जिल्लाको सबैभन्दा ठुलो लालबन्दी नगरपालिकाले चालू आर्थिक वर्षको ८ महिनामा २४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।
नगरपालिकाको सहयोगमा मुनाल सामुदायिक संस्थाले गरेको सार्वजनिक सुनुवाईका क्रममा नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० मा कुल बजेट एक अर्व १६ करोड ७८ लाख ८५ हजार मध्ये २८ करोड बजेट मात्र खर्च भएको जानकारी दिइएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख बासुदेव अधिकारीले चालू आवको आठ महिनामा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक निर्माण तथा समाजिक सुधार लगायत ३७ वटा शिर्षकहरुमा उल्लेखनीय कार्यहरू गरेको विवरण प्रस्तुत गरे । जसमा माघ मसान्तसम्म कुल वार्षिक बजेटको चालु खर्च ३५.४३ प्रतिशत, पुँजीगत खर्च १०.४२ प्रतिशत रहेको थियो । त्यस्तै हाल सम्मको आम्दानी अनुसार आन्तरिक स्रोतबाट ५७.९ प्रतिशत खर्च भएको प्रगति विवरण प्रस्तुत गर्दै मेयर अधिकारीले जानकारी गराए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका १७ वटै वडाका जनप्रतिनिधि तथा सचिवहरूले उपस्थिति जनाउँदै आ–आफनो वडाहरुमा भएका कामहरुका प्रगति विवरण प्रस्तुत गरेका थिए । अन्य प्रगतिहरुमा लालबन्दी नगरपालिकाले जग्गा वर्गीकरण योजना, कर्मचारीहरुको व्यवस्थापन, कृषि, सिचाइ र खानेपानीका संरचना निर्माण, शिक्षाको गुणस्तर सुधार तथा प्रधानाध्यापकहरुको व्यवस्थापन, नारायणखोलामा पक्की पुल निर्माण, लगायत विभिन्न विधालयहरुको भवन निर्माणका काम अघि बढाइएको योजना अधिकृत रेवती प्रसाद पौडेलले बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासी, लालबन्दी नगरपालिकाका कर्मचारी लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमका संचालन पत्रकार रामबाबु खडकाले गरेका थिए ।