सोम दियाली, हरिवन ।।
फागुन ६ गते ।। सामुदायिक विद्यालयलाई गरीब जनताका छोराछोरी पढ्ने विद्यालयको रुपमा चित्रित गर्ने हाम्रो चलन छ । हामी आफै पनि सकिनसकी देखासिकी कै लागि भएपनि छोराछोरीलाई निजी विद्यालयमा भर्ना गराउँछौं । तर सरकारको ठुलो लगानी रहेको सामुदायिक विद्यालयलाई भने हामी उपेक्षा गर्छौं । त्यसैले पनि होला हाम्रा अधिकांश सामुदायिक विद्यालयको अवस्था नाजुक छ ।
हरिवन ८ स्थित चुरे जनता आधारभूत विद्यालयको अवस्था पनि नाजूक थियो । विद्यालयको प्राङ्गण गाईभैसी चर्ने चौर बनेको थियो । तर अहिले भने झण्डै झण्डै अढाई महिनाकै अन्तरालमा यो विद्यालयको स्वरुप फेरिन थालेको छ ।

स्थानीय समाजसेवी यूवा दिपक उप्रेतीको नेतृत्वमा गएको मंसीर २६ गते गठन भएको नयाँ विद्यालय व्यवस्थापन समितिले तिब्र गतिमा काम अघि बढाएपछि विद्यालयको शैक्षिक तथा भौतिक स्वरुप नै फेरिन थालेको हो । गरे के हुँदैन भन्ने उदाहरण यो विद्यालयको नयाँ व्यवस्थापन समितिले सावित गर्दै लगेको छ ।
२०४२ सालमा समाजसेवीहरु केशव ढकाल, नवराज भट्टराई, मुकुन्द श्रेष्ठ, टोपराज लुईटेल, रामभक्त प्रधानलगायतको सक्रियतामा स्थापना भएको सो विद्यालय समुदाय र सरकारी वेवास्ताका कारण धरासायी बन्दै गएको थियो । ‘कुनै समय कक्षा ८ सम्म अध्ययन अध्यापन हुने विद्यालय समुदायको वेवास्ताकै कारण कक्षा ५ मा झरेको थियो । समुदायले वास्ता नगर्ने, विद्यार्थीहरु निजी विद्यालय भर्ना हुने भएपछि सो विद्यालयमा भर्ना हुने विद्यार्थी नै भएनन् । विद्यार्थी नभएपछि कस्लाई पढाउने ?’ विद्यालयको स्तर घट्नुको कारण बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक उप्रेतीले भने ।
‘विद्यालयमा शिक्षकको कमी पनि छैन । भवनको कमी पनि छैन । कमि छ त केवश विद्यार्थी र अभिभावकको चासो । म अध्यक्ष भइसकेपछि विद्यालयको मुख्य समस्या के हो भनेर अध्ययन गरे ? अनि काम गर्न सुरु गरे ?’, विद्यालय व्यवस्थापन समिति अध्यक्ष उप्रेतीले भने,‘शुरुमा हामीले विद्यार्थीहरुलाई एकसरो व्याग, विद्यालय पोशाक लगायतका सामाग्री वितरण ग¥यौं । त्यसपछि अहिले दाताहरुको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरेका छौं । विद्यालयको गेट लगाउने देखि लिएर बोर्डहरु राख्ने काम भइरहेको छ ।’

उनले आगामी शैक्षिक सत्रबाट मण्टेश्वरी देखि कक्षा ५ सम्म नै अंग्रेजी माध्यमको पठनपाठन सुरु गर्ने तयारी गरिरहेको बताए । जसका लागि दुई जना स्वयमसेवक शिक्षकको नियुक्ती गर्ने तयारी भइरहेको छ । त्यस्तै विद्यालय हाताभित्र ब्लक विछ्याउने कार्य र अन्य भौतिक तथा शैक्षिक सुधारका आफूले सकेको प्रयासहरु गरिरहेको बताए । उनले आफूले विद्यालय सुधारको लागि देखाएको चासो र देखाएको प्रतिवद्धताबाट प्रभावित भएर धेरै जनाले विद्यालयलाई सहयोग गर्न ईच्छा देखाएको बताए । ‘केही समय अघि जननी शैलेस फाउण्डेशनको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना भएको थियो । फागुन ७ गते एक लाख ११ हजारको अध्यक्षकोष स्थापना हुँदैछ । यस कार्यमा हरिवन निवासी डाक्टर नरेन्द्र प्रसाद मैनालीलाई धन्यवाद दिन चाहान्छु ।’, अध्यक्ष उप्रेतीले भने ।
उनले विद्यालयको अवस्था सुधार गर्ने कार्यमा वडाअध्यक्ष र वडा कार्यालयबाट भरपूर सहयोग भएको भएपनि नगरपालिकाबाट सोचे जस्तो सहयोग प्राप्त नभएको गुनासो गरे । तर पनि नगरपालिकाले आवश्यक सम्पूर्ण सहयोग गर्नेमा आफू आशावादी रहेको अध्यक्ष उप्रेतीले बताए ।
उनले आफैले अध्ययन गरेको विद्यालयको अवस्था नाजुक हुँदा टुलुटुलु हेरेर बस्न नसकेको भन्दै विद्यालयलाई नगरकै नमूना विद्यालय बनाउने प्रतिवद्धता व्यक्त गरे ।