भाइरल पोष्ट, हरिवन ।।
फागुन ६ गते ।। सर्लाहीको हरिवनमा बाथरोग विशेषज्ञ डाक्टरको सेवा निःशुल्क पाईने भएको छ । हाडजोर्नी अर्थात बाथरोगबाट पीडित विरामीहरुलाई लक्षित गरी नगरपालिकाले नै प्रत्येक महिनाको पहिलो आईतबार निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको हो ।
शनिबार सासापुर स्वास्थ्य चौकीमा पहिलो पटक भएको स्वास्थ्य परीक्षणका क्रममा ८० जनाको निःशुल्क परीक्षण भएको छ । काठमाण्डौं दिर्घायू गुरु अस्पतालका वरिष्ठ फिजिसियन बाथरोग विशेषज्ञ डाक्टर नरेन्द्र प्रसाद मैनालीले यहाँका ३७ जना पुरुष तथा ४३ जना महिला गरी ८० जना वाथरोगीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् ।
‘सासापुरमा नगर अस्पताल निर्माणको काम भईरहेको छ । सो अस्पताल सुचारु नहुन्जेल यहाँका विरामीहरुलाई विशेषज्ञ डाक्टरको सेवा यही नै दिने उदेश्यले मेयरसापको पहलमा नै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको हो ।’ नगरपालिकाका स्वास्थ्य तथा मानव विकास शाखाका संयोजक रामबाबु चौधरीले भने ।
उनी अगाडि भन्छन्, –‘अहिले अब तत्कालका लागि प्रत्येक महिनाको पहिलो आइतबार वाथरोगको परीक्षण हुन्छ । अन्य रोगको परीक्षण गर्न पनि काठमाण्डौं मेडिसिटी अस्पतालसँग कुरा भईरहेको नगरप्रमुखले जानकारी दिनुभएको छ । अन्य रोगको जाँच तीन तीन महिनामा गराउने कार्यक्रम छ ।’
उनका अनुसार आज पहिलो पटक भएको स्वास्थ्य परीक्षणमा मेयर कमल बुढाथोकीको उपस्थितिमा विरामीहरुको स्वास्थ्य जाँच गरिएको थियो । सो क्रममा मेयर बुढाथोकीले आफूहरुले नगरको स्वास्थ्यमा गुणस्तरीय सेवा दिने उदेश्यका साथ काम गरिरहेको बताएका थिए ।