भाइरल पोष्ट, रौतहट ।।
फागुन ४ गते ।। रौतहटको मौलापुर नगरपालिका ५ पतौरास्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा हुने मधानी महायज्ञको तयारी पुरा भएको छ ।
महायज्ञको उदघाटन उपराष्ट्रपति नन्दकिशोर पुनले शुक्रबार गर्ने कार्यक्रम रहेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा प्रत्येक बर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको छ । मधानी महायज्ञ यस वर्ष पनि फागुन ५ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त महायज्ञ फागुन ५ गते शुभारम्भ भई फागुन ७ गते समापन हुने कार्यक्रम रहेको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले बताईन् ।
फागुन ५ गते उपराष्ट्रपति पुनले महायज्ञको उद्घाटन गर्नुका साथै नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक भुवन केसीलगायतका कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन् । त्यस्तै, फागुन ६ गते यज्ञ अनुष्ठान हुनुका साथै भोजपुरी चलचित्र एवं संगीत क्षेत्रका लोकप्रिय कलाकार पवन सिंह तथा नायिका काजल राघवानीसहित अन्य चर्चित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ ।
फागुन ७ गते भने नेपालको चर्चित कुस्ती खेलाडी देवा थापासहित चर्चित पहलमानहरुको सहभागितामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुनेछ । यसका साथै फागुन ५ देखि लगातार तीन दिन बेलुका शिवलिला प्रदर्शन समेत गरिनेछ ।